एसिया कप प्रवेशका लागि युएईसँग खेल्दै नेपाल

काठमाडौं । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा आज सोमबार नेपाल र युएई खेल्दै छन् ।  नेपाल युएईलाई पराजित गरेर नेपाल पहिलो पटक एसिया कप खेल्ने लक्ष्यमा रहेको छ ।

उता, नेपालसँग जित हात पारेर युएई चौथोपटक एसिया कपमा स्थान बनाउन चाहन्छ । नेपाल र युएईबीचको खेल बिहान नौ बजेबाट टियु क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ ।  सन् १९८४ बाट सुरु एसियाकपको १६ औं संस्करणको प्रतियोगितामा नेपाल पहिलो पटक सहभागीता जनाउने लक्ष्यमा रहेको छ ।

पहिलो सेमिफाइनलमा कुवेतसँगको खेल भारी वर्षाको कारण खेल रद्द भएपछि नेपाल समूह चरणमा गरेको प्रदर्शनको आधारमा फाइनलमा पुगेको हो । उता, युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएल मेथडमा दुई रनले हराउँदै फाइनलमा स्थान बनाएको हो ।

नेपाल र युएईबीच २०१८ पछि भएको १३ खेलमा नेपाल सात तथा छ खेलमा जितेको छ । नेपाल र युएईबीचको पछिल्लो भेटमा नेपाल विजयी भएको थियो ।

सोमबार फाइनल खेल हुने टियु मैदानमा नेपाल पछिल्लो १५ खेलदेखि अपराजित रहेको छ । युएईसँग टियु मैदानमा भएको पछिल्लो चार खेलमा नेपाल अपराजित रहेको छ ।

युएई ब्याटरहरु पछिल्लो समयमा केही लयमा रहनु नेपालका लागि चुनौती हुनसक्छ । नेपालका बलरहरु त्यस चुनौतीलाई पन्छाउन तयार रहेका छन् ।  फाइनल खेल तय भएको सोमबार काठमाडौंमा वर्षा हुने सम्भावना छ । सोमबार खेल हुन नसकेको खण्डमा मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ ।

तर, सोमबार र मंगलबार दुबै दिन वर्षाको कारण खेल हुन सकेन भने दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ । पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ ।

तर, वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय(ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ ।

आइसीसीको ओडिआई वरियतामा नेपाल १४ औं र युएई १९ औं स्थानमा छन् । खेल रद्द हुँदा नेपाल ओडिआई वरियताको कारण एसिया कपमा स्थान सुरक्षित गर्नेछ ।  एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

एसिया कपमा घरेलु टोली पाकिस्तान, भारत र प्रिमियर कप विजेता समूह ए मा तथा समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान हुनेछन् । समूह चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोली सुपर फोर खेल्नेछन् । शीर्ष दुई टोली फाइनल खेल्नेछन् । एसिया कप आगामी सेप्टेम्बरमा हुनेछ ।

एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाएसँगै युएई र नेपालले आगमी जुलाईमा हुने एसिसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएका छन् । आइतबार भएको तेस्रो स्थानको खेल बर्षाका कारण रद्द भएसँगै ओडिआई मान्यता प्राप्त राष्ट्रको आधारमा ओमान विजेता बन्यो । विजेता बनेसँगै ओमानले एसीसी इमर्जिङ टिम्स एसिया कपमा स्थान बनाएको छ ।