अमेरिकी उद्धारकर्मीबाट नेपाल प्रहरीलाई २२ हजार डलरभन्दा बढीको उद्धार सामग्री सहयोग

काठमाडौं । अमेरिकाका उद्धारकर्मी तथा रिभर राफ्टिङप्रेमीहरूको सहयोगमा नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसीलाई २२ हजार अमेरिकी डलरभन्दा बढी मूल्यका व्यावसायिक उद्धार सामग्री हस्तान्तरण गरिएको छ।

अमेरिकास्थित Waterborne Relief र Swiftwater Safety Institute को सहकार्यमा उपलब्ध गराइएको उक्त सामग्री नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी, काठमाडौंलाई प्रदान गरिएको हो। सहयोगमा एशर लेइस (Asher Leiss), कोरी जोन्स (Corry Jones) र गेब्रियल वाल्स (Gabriel Walls) लगायतको सहभागिता रहेको छ।

उद्धार कार्यमा प्रयोग हुने १५ सेट पूर्ण व्यावसायिक उपकरणसहित टोलीले प्रयोग गर्ने थप उद्धार सामग्रीसमेत सहयोग गरिएको छ। प्रत्येक सेटमा उद्धारका लागि प्रयोग हुने लाइफ ज्याकेट (रेस्क्यु पीएफडी), हेल्मेट, वेटसुट, पानीमा प्रयोग गर्न मिल्ने हेडलाइट, थ्रो रोप, टाइटेनियम चक्कु तथा विभिन्न धातुका उपकरणहरू समावेश छन्। यी सामग्रीको कुल मूल्य २२ हजार अमेरिकी डलरभन्दा बढी रहेको जनाइएको छ।

नेपाल आएका उद्धारकर्मी तथा राफ्टिङप्रेमीहरूले पर्यटन भ्रमणका क्रममा आफ्नो चेक-इन लगेजमा उद्धार सामग्री बोकेर ल्याएका थिए। वरिष्ठ फोटो पत्रकार एवं प्रेस काउन्सिलका सदस्य प्रकाश माथेमाले एशर लेइससँग समन्वय तथा संवाद गरी उक्त सहयोग नेपालसम्म ल्याउन पहल गरेका थिए।

त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित राफ्टिङ कम्पनीहरूलाई समेत सहयोग गर्ने उद्देश्यले उनीहरूले नेपालका राफ्टिङ व्यवसायीका लागि थप राहत सामग्री तथा उपकरण खरिद गरेका थिए। यस सहयोगलाई अमेरिका र नेपालका नदीसँग सम्बन्धित समुदाय तथा व्यावसायिक उद्धारकर्मीबीचको सहकार्यका रूपमा लिइएको छ।

उद्धार सामग्री हस्तान्तरणपछि प्रशिक्षक कोरी जोन्सले नेपाल प्रहरीका सम्बन्धित सुरक्षाकर्मीलाई सामग्रीको सुरक्षित तथा प्रभावकारी प्रयोगबारे व्यावहारिक प्रशिक्षणसमेत दिएका थिए। तालिममा उद्धार उपकरणको प्रयोग र पानीमा हुने विपद्का बेला उद्धार कार्य सञ्चालन गर्दा अपनाउनुपर्ने विधिबारे जानकारी दिइएको थियो।

यस सहयोगले नेपालमा जलजन्य विपद् तथा बाढीका घटनामा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, यसले नेपाल र अमेरिकाका नदी समुदायबीचको आपसी सहयोग र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।