काठमाडौं । श्री कुमारी पूजा समितिको आयोजना तथा काठमाडौं महानगरपालिका वडा नम्बर १९ कार्यालयको समन्वयमा पञ्चकुमारी पूजा सम्पन्न भएको छ। पूर्णिमाको अवसरमा आयोजित उक्त पूजामा पञ्चकुमारीका साथै गणेश र कुमारको समेत विधिपूर्वक पूजा गरिएको थियो।
वडा नम्बर १९ सहित सम्पूर्ण विश्वमा सुख, शान्ति र समृद्धि कायम होस् भन्ने कामनासहित लामो समयदेखि पूर्णिमाको दिन यस्तो पूजा आयोजना हुँदै आएको छ। पूजाका क्रममा परम्पराअनुसार बलिपूजा पनि गरिएको थियो।
वडा नम्बर १९ का वडा सदस्य चन्द्रमान डंगोलले स्थानीय क्षेत्रको मात्र नभई विश्वभरका मानिसको सुख, शान्ति र समृद्धिको कामना गर्दै लामो समयदेखि यस्तो पूजा सञ्चालन हुँदै आएको जानकारी दिनुभयो। उहाँका अनुसार धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिँदै सामूहिक कल्याणको कामनासहित पूजा आयोजना गरिएको हो।
