रवि लामिछानेका सवारी चालक शम्भु थापाको मृत्यु

काठमाडौं –  चितवनको घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चाालक शम्भु थापाको मृत्यु भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थापाको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ ।

मेडिसिटी अस्पतालकी सञ्चार अधिकृत मनिता पोखरेलका अनुसार थापाको मंगलबार दिउँसो १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो ।
वैशाख ४ गते बिहान ४ बजे घरको छतबाट खसेर सख्त घाइते भएका थापाकाे घर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ हो । ३९ वर्षीय थापालाई कलेज अफ मेडिकल साइन्सेस भरतपुरमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याएको थियो ।  उहाँको टाउकोमा गहिरो चोट लागेको थियो ।
दुर्घटनामा परी निधन भएका कारण थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उहाँको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।