रातो मन्छिन्द्रनाथको रथजात्राः आज बेलुकी पंचबली पुजा, पर्सि नरीवल खसाल्ने जात्रा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथजात्राको क्रममा आज बेलुकी पंचबली पुजा हुँदैछ। हरेक वर्ष रातो मन्छिन्द्रनाथको रथलाई लगनखेलमा पुर्‍याइएपछि महाबली पुजा गरिन्छ। हिजो रथलाई तानेर लगनखेलमा रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गराइएको हो।

रथलाई आज र भोली लगनखेलमा राखिन्छ । आज बेलुकी पंचबली पुजा गरेर भोली लगनखेलमा छोयलाभू मनाएर पर्सि नरिवल खसाल्ने जात्रा हुनेछ।

यो बर्ष रथमा समस्या उत्पन्न भएकोले सुन्धारा देखि लगनखेल पुर्याउन ५ दिन लागेको छ । विगतका वर्षहरुमा सुन्धारा देखि लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरिन्थ्यो। रथ विग्रदा ढिला गरि लगनखेल पुर्‍याइएको हो । रथलाई पटक पटक क्रेन प्रयोग गरेर सोझ्याउदै लगनखेलसम्म यात्रा गराइएको हो ।

गएको बैशाख ११ गतेबाट ललितपुर पुल्चोकबाट तानेर रथ नःटोल, गावाहाल, मंगलबजार, सुन्धारा हुँदै लगनखेलसम्म ल्याइएको हो । नरिवल खसाल्ने जात्रा पछि शुभ साइत निकालेर रथ जावलाखेलमा लगिनेछ भने राष्ट्रप्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि यस वर्षको रथयात्रा सम्पन्न हुनेछ।

भोटोे देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति लगिनेछ।