सरकारले ५ हजार ८ सय ८० भूकम्पपीडितलाई ५० हजार अनुदान दिने

काठमाडौं – सरकारले २०७८ जेठयताका भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि ५० हजार रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले ०७८ र ०७९ मा गएका भूकम्पबाट घर पूर्ण रूपमा क्षतिग्रस्त भएका प्रभावित परिवारलाई दुई किस्तामा अनुदान दिने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार ०७८ जेठमा लमजुङ, ०७८ साउनमा खोटाङ, ०७९ कात्तिकमा डोटी र ०७९ माघमा बाजुरा केन्द्रबिन्दु भएर गएका भूकम्पबाट लमजुङ, खोटाङ, डोटी, अछाम, बाजुरा, बझाङ र डडेल्धुराका पाँच हजार आठ सय ८० घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।