काठमाडौं – कीर्तिपुरको चोभारस्थित सुलक्षण कीर्तिविहारका संस्थापक डा.अनोजा गुरूमाको निधन भएको छ । उहाँको निधन ६९ वर्षको उमेरमा बुधबार विहान भएको हो।
उहाँको पार्थिव शरीर मरणोपरान्त धुलिखेलस्थित मेडिकल हस्पिटललाई दान गरिने भएको छ । दान गर्नु अघि शुक्रबार दिउँसो ३ बजेसम्म श्रध्दाञ्जलिका लागि सुलक्षण कीर्तिविहार चोभारको सभाहलमा राखिनेछ ।
आफ्नो जीवनकालमा झण्डै ३३ वटा मुलुकहरूको भ्रमण गर्नुभएको अनोजा गुरूमाको काभ्रे जिल्लाको बनेपामा पिता हरिनारायण र आमा रत्नमाया मानन्धरको कोखबाट वि.सं.२0११ साउन ३ गते जन्म भएको थियो । नेपालबाट आईए उत्तीर्ण गर्नुभएको गुरूमाले भारतबाट बीए, एमए र विद्यावारिधि गर्नुभएको थियो ।
प्राथमिक सेवा, एक्युप्रेसर, सिलाई-बुनाई, रफ्फु गर्ने र ध्यानयोग सम्बन्धि तालिम लिनुभएको उहाँले वि.सं.२0२७ मंसीर १ गते १६ वर्षको कलिलो उमेरमै गृहत्याग गरेर प्रव्रजित हुनुभएको थियो । झण्डै एकदर्जन कृतिका लेखिका अनोजा गुरूमाले दुई दर्जन बढी सम्मान, पुरस्कार र प्रशंसापत्र प्राप्त गर्नुभएको थियो ।
