काठमाडौं – प्रतिनिधिसभा बैठक भोलि (शनिबार) सम्मका लागि स्थगित भएको छ । शुक्रबार साँझ ६ बजेका लागि तय भएको बैठक अन्तिम समयमा भोलि सम्मका लागि स्थगित भएको हो ।
शुक्रबार दिउँसो १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक दिउँसो ३ बजेका लागि तय गरिएको थियो । त्यसपछि बेलुकी ६ बजे बस्ने भनिएको बैठक अन्तिम समयमा सूचना टाँस गरि स्थगित भएको हो ।
संसद् सचिवालयका महासचिव डा।भरतराज गौतमले शनिबार दिउँसो ४ बजेका लागि बैठक तय भएको जानकारी गराउनु भयो ।
यसअघिको संसद बैठकमा नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले पशुपतिनाथको जलहारीमा सुन भनेर पित्तल राखेर भ्रष्टाचार गरेको छानवीन गर्नुपर्ने माग गर्नु भएको थियो । उहाँको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन वा भ्रष्टाचार गरेको प्रमाण दिन माग गर्दै एमालेले संसद बैठक सुरु हुनेवित्तिकै अवरोध गरेको थियो ।
एमालेको निरन्तरको अवरोधपछि बैठक स्थगित भएको थियो ।
