काठमाडौं – माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग जाेडेर दिएकाे अभिव्यक्ति सङ्घीय संसद्को रेकर्डबाट हटाइएको छ ।
‘कोभिड सङ्कटको बेला भित्र्याइएको स्वास्थ्य सामग्रीमा २ अर्बकाे भ्रष्टाचार र पशुपतिनाथमा जलहरी चढाउँदा सुन भनेर पित्तल लगाएर गरेको भ्रष्टाचार’ भन्ने दाहालको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाइएको हाे ।
शनिवार आज बसेको प्रतिनिधि सभा बैठकमा सभामुख देवराज घिमिरेले सांसद दाहालले दिएको अभिव्यक्तिसहितको शब्द संसद्को रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।
गएकाे जेठ १० गते सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा सांसद दाहालले प्रमुख प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीमाथि आरोप लगाउँदै यस्ताे अभिव्यक्ति दिएको भन्दै एमालेले शुक्रवार हिजाे संसद् बैठक अवरुद्ध पारेको थियो ।
एमालेले सांसद दाहालको याे अभिव्यक्तिबारे सरकारले जवाफ नदिएसम्म संसद् बैठक सुरु हुन नदिने अडान लिँदै आएको थियो । शनिवार प्रधानमन्त्री प्रचण्डले सांसद दाहालको अभिव्यक्ति उचित नभएको बताएपछि एमालेले संसद् बैठक सुरु हुन दिएको हो ।
