सारुक ताम्राकारको मोबाइल परीक्षण गर्दा भेटियो सुसाइड नोट

काठमाण्डाै – आफ्नै घरमा मृत फेला परेका कलाकार सारुक ताम्राकारको मोबाइलमा प्रहरीले अनुसन्धानको क्रममा सुसाइड नोट फेला पारेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालको डिजिटल फरेन्सिक ल्याबमा जाँचका लागि पठाइएको मोबाइलको ‘नोट्स’मा उनले मृत्यु हुनुअघि लेखेको विवरण फेला परेको हो ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका स्रोतका अनुसार, ताम्रकारले नोटमा आफूलाई विवादमा नपार्न पनि भनेका छन् । झण्डै एक पाना लामो नोटमा उनले साथीहरु र परिवारलाई पनि सम्झिँदै सबै गल्ती आफ्नै भएको बताएका छन् ।

‘इट्स अल माई फल्ट, कसैलाई ब्लेम नगर्नु’, उनको नोटलाई उधृत गर्दै प्रहरी स्रोतले भन्यो, ‘यो सबै यहीँ इन्ड हुनु थियो, सो सकियो । लेट मि रेष्ट इन पिस, धन्यवाद ।’

ताम्राकार २१ असारमा घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए । लगत्तै उनको मोबाइललाई जाँचका लागि पठाइएको थियो ।

घटनास्थलमा पुगेका अधिकृतहरूका अनुसार उनको निधनपछि घर फोडेर अनुसन्धानका लागि प्रहरी उनको घर पुग्दा उनको मोबाइलमा गीत बजिरहेको थियो । उनले मोबाइल ‘फ्लाइट मोड’मा राखेर गीत बजाइरहेका थिए । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पोष्टमार्टमपछि परिवारले शव बुझेर अन्त्येष्टि गरिसकेको छ ।