भक्तपुरमा मनाइयो जनैपूर्णिमा

काठमाडौँ — भक्तपुरमा बुधबार जनैपूर्णिमा (गुंपुन्ही) मनाइएको छ । यो वर्ष गाईजात्रा र जनैपूर्णिमा एकैदिन परेपछि यहाँ अघिल्लो दिन नै जनैपूर्णिमा मनाइएको हो । गाईजात्रा र जनैपूर्णिमा एकै दिन परेकाले अन्योल उत्पन्न भएको भन्दै भक्तपुर नगरपालिकाले तलेजुका पुजारीहरूसँग छलफल गरेर बुधबार नै जनैपूर्णिमा मनाएको हो ।

भक्तपुरमा तिथिमितिमा अन्योल उत्पन्न भए तलेजुमा जुन दिन चाडपर्व मनाइन्छ, सोही दिन सर्वसाधारणले पनि मनाउने प्रचलन छ ।

तिथि घटबढका कारण कुनै दुई तिथि एकै दिन परे तलेजुका मुल पुरोहित, राजोपाध्याय एवं पुजारीहरू कर्माचार्य र जोशीहरूले आपसमा ज्योतिष विज्ञानका आधारमा छलफल गरी चाडपर्व मनाउने प्रचलन छ ।

सोहीअनुसार भक्तपुर नगरपालिकाले तलेजुका मूल पुजारी र पुजारीहरूसँग छलफल गरी भदौ १३ गते जनैपूर्णिमा र १४ गते गाईजात्रा मनाउने भएको हो । आज जनैपूर्णिमा मनाइएको छ । नगरपालिकाले बिहीबार गाईजात्रा मनाइने जनाइएको छ । भक्तपुरमा आजै जनै लगाउने, रक्षाबन्धन बाँध्ने, भ्यागुतोलाई   भात खुवाउने र क्वाति खाएर जनैपूर्णिमा मनाइँदैछ ।