काठमाण्डाै – सांस्कृतिक नाटक बोधि–सत्त्व मंसिर २० गतेदेखि मंचन गरिने भएको छ। यो नाटक मंसिर २० गतेदेखि पुष ४ गतेसम्म हरेक दिन साँझ ५ बजे कौसी थिएटर, टेकुमा मञ्चन हुन लागेको हो ।
नाटकको परिकल्पना, लेखन तथा निर्देशन चर्या नृत्य गुरु चन्द्रमान मुनिकारले गर्नु भएको हो भने नाट्य रुपान्तरण इँगिहोपो कोँइच सुनुवारले गर्नुभएको हो । यस नाटकमा मुख्य पात्रको रुपमा सुदन मुनिकार तथा कलाकारहरु संगिता थापा, युवाहाङ राई, अनिशा श्रेष्ठ, सन्तोष गिरी, अजय लामा, सृजना शर्मा, अन्जु श्रेष्ठ, नविन काफ्ले, नानुमैया महर्जन र सचिन लामा हुनुहुन्छ भने संगित संयोजन निरज शाक्य र यचु शाक्यको रहेको छ। ममा आर्ट्सको सहकार्यमा बज्र कला कुञ्जको प्रस्तुति रहेको यस नाटकको लागि काठमाडौं महानगरपालिकाको सहयोग रहेको छ ।
मान्छेले आफ्नो जीवनमा आफ्नो क्षणिक खुशीको लागि विभिन्न उद्देश्य राखेर अघि बढ्ने क्रममा आफुलाई झन्–झन् दुःखतिर धकेलिरहेको अवस्था छ । दुःख भयो भनेर झन् त्यो कुरा सोचेर फेरि दुःखमा धकेलिरहेको हुन्छ । मान्छेले आफ्नो स्वार्थ र खुशीको लागि नराम्रो कर्म गरिरहेको छन् । वास्तवमा मान्छेले आफ्नो जीवनमा अरुको हितको लागि गर्नुपर्छ । मनमा बोधि चित्त उत्पन्न गर्नु पर्छ अर्थात राम्रो चित्त बनाई लोकजनको उपकार गर्नु करुणा हो । कसैको कुभलो नचिताई राम्रो चित्त राख्नाले वोधिज्ञान प्राप्त भई वोधिसत्वको मार्गमा पुग्न सकिन्छ भन्ने कुरा यस सांस्कृतिक नाटक ‘बोधि–सत्त्व’ मा देखाउन खोजिएको छ ।
३ दशक देखि निरन्तर रुपमा नेपालको मौलिक कला, संस्कृति मुर्त तथा अमुर्त सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन तथा उत्थानमा लागि परेको बज्र कला कुञ्जले यस अघि नामसंगति, कुमारी र पचली भैरव जस्ता सांस्कृतिक नाटकहरु पनि मञ्चन गरिसकेको छ ।
