भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ। वृद्धावस्थामा दाँत झर्दा समस्यामा रहेका ८४ जना वृद्धवृद्धाको ‘ज्येष्ठ नागरिक दन्त उपहार’ कार्यक्रम अन्तर्गत दाँत फेरिदिएको हो ।
बुढेशकालमा दाँत फेर्न पाउँदा खुसी लागेको स्थानीय ७३ वर्षीय वृद्ध टङ्कबहादुर भुजेलले बताउनु भयो। गाउँपालिकामा निःशुल्क दाँत फेर्न पाउँदा समय र पैसाको बचत भएको उहाँको भनाइ छ।
‘गाउँपालिकाले हामीलाई दाँत उपहार दिएको छ’, उहाँले भन्नुभयो, ‘आर्थिक अवस्था कमजोर भएको कारण नयाँ दाँत लगाउन सकेको थिइन् । गाउँपालिकाले दाँत फेरिदियो मलाई एकदम खुसी लागेको छ ।’
‘गाउँपालिकाको तर्फबाट ज्येष्ठ नागरिकलाई दाँत उपहार दिएका छौँ,’ अध्यक्ष खत्रीले भन्नु भयो, ‘दाँत नहुँदा माड खाएर बसेका ज्येष्ठ नागरिकलाई सहजता थप्न दाँत दिएका हौँ ।’
उपलब्ध गराइएको दाँतमा केही समस्या आएमा दश वर्षसम्म निःशुल्क मर्मत गर्ने गरी अस्पतालसँग गाउँपालिकाले सम्झौतासमेत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खतिवडाले जानकारी दिनु भयो।
ज्येष्ठ नागरिकको मनोबल बढाउनका लागि ज्येष्ठ नागरिक दन्त उपहार कार्यक्रममामार्फत गाउँपालिकाले निःशुल्क दाँत उपलब्ध गराएको गाउँपालिका उपाध्यक्ष विनिता ढकालले बताउनु भयो । बुढेसकालमा खानपानसँगै सौदर्यतासमेत प्रभाव पर्ने भएकाले गाउँपालिकाले दाँत फेरिदिएको उपाध्यक्ष ढकालले बताउनु भयो।
‘आर्थिक रुपमा कमजोर रहेका ज्येष्ठ नागरिकलाई दाँत लगाइदिएका छौँ,’ उपाध्यक्ष ढकालले भने, ‘यसले उहाँहरूलाई मिठो मसिनो खान सहजता हुन्छ। यसले ज्येष्ठ नागरिकको दैनिक जीवनलाई सहज बनाउँछ भन्ने हाम्रो अपेक्षा हो ।’
गाउँपालिकाले दश लाख बजेट विनियोजन गरेर पूर्वाञ्चल डेन्टल हस्पिटल इटहरीसँग साझेदारीमा दाँत वितरण गरेको हो ।
फेरिएका दाँतको १० वर्षे वारेन्टी रहेको पूर्वाञ्चल हस्पिटल अस्पतालका सञ्चालक केशव रिमालले जानकारी दिनु भयो।
