काठमाडौं– भक्तपुरवासीले प्रत्येक नयाँ वर्षमा नौ दिन आठ रातसम्म परम्परागत तान्त्रिक विधिअनुसार मनाउने प्रसिद्ध बिस्काः जात्रा नजिकिँदै गर्दा श्रीभैरवनाथ तथा भद्रकालीको रथ निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । टौमढीस्थित पाँचतले मन्दिर प्राङ्गणमा भैरव र भद्रकालीको रथ निर्माण तीब्र रूपमा भइरहेको छ।
बिस्काः जात्राका लागि विधिअनुसार काठैकाठको प्यागोडा शैलीको करिब ३५ फिट अग्लो तीन तले श्रीभैरवनाथको रथ निर्माण गरिन्छ ।
जात्राका लागि अत्यावश्यक मानिने भैरव र भद्रकालीको रथ निर्माण तीव्र गतिमा भइरहेको गुठी संस्थान भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिनुभयो ।
चैत २६ गते सोमवारसम्म रथमा रङ्गरोगन एवम् सजाउने काम गरिने र चैत २७ गते सरकारी पूजा ११ बजे, सर्वसाधारणको पूजा दिउँसो ३ बजेसम्म सकेर दिउँसो ३ बजेदेखि रथ तान्न शुरु गरिने उहाँले बताउनुभयो । रथ तानेसँगै चैत २७ गते बिस्काः जात्रा सुरु हुनेछ ।
