उपनिर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ । आउँदो वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूले आज मनोनयन पत्र दर्ता गर्दैछन् । निर्वाचन आयोगका अनुसार आज बिहान १० देखि साझँ ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ ।

आजै साँझ ६ बजे उम्मेदवारको मनोनयन पत्र दर्ता भएको सूची प्रकाशित गरिने आयोगले जनाएको छ। यस्तै उम्मेदवारको विरोधमा उजुरी दिनका लागि भोलि बिहान १० बजेदेखि ३ बजेसम्मको समय निर्धारण गरिएको छ । साँझ ५ बजे आयोगले उम्मेदवारको मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्नेछ ।

निर्वाचन कार्यक्रम अनुसार चैत २६ गते साँझ ५ देखि साँझ ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । चैत २७ गते उम्मेदवारको नाम फिर्ता, उम्मेदवारको अन्तिम नामावली प्रकाशन तथा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ । आउँदो वैशाख १५ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदान हुनेछ। इलाम–२ र बझाङ प्रदेश १ मा आयोगले उपनिर्वाचन गर्न लागेको हो ।