माइतीघर मण्डलाको मौलिक नाम “फिब्व ख्य:” घोषणाको मागसहित प्रदर्शन

काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंले माइतीघर मण्डलदेखि बानेश्वर क्षेत्रको निषेधाज्ञा हटाएसंगै राष्ट्रिय मुक्ति क्रान्ति अन्तर्गत रहेको उपत्यका विशेष व्युरो र नेवा: राष्ट्रिय परिषदले माइतीघर मण्डलाको मौलिक नाम “फिब्व ख्य:” घोषणा सहितको प्रदर्शन गरेको छ । सबैको चाहना अनुसार नेपाः मण्डल सहित बहुल राष्ट्रिय राज्य स्थापनाको मण्डलामा नाम अब “फिब्व ख्य:” हुनुपर्ने भन्दै माइतीघर मन्डलामा प्रदर्शन गरेको हो।

गएको चैत्र २४ गते नेपाः मण्डल घोषणा तथा माइतीघर मण्डलामा सरकारले लगाएको निषेधित क्षेत्र तोड्ने क्रममा प्रहरीले पक्रउ गरेका प्रदर्शनकारीको रिहाइको माग पनि गरेको थियो। सरकारले फिब्व ख्यः लाई निषेधित क्षेत्र हटाएर खुला क्षेत्र घोषणा गर्नु नै राष्ट्रिय मुक्ति क्रान्तिले दुई पटक गरेको आन्दोलन तथा संघर्षकाे उपलब्धि भएको न्युज नेपा: डट कमलाई पुर्व उपप्रधानमन्त्री तथा राष्ट्रिय मुक्ति क्रान्तिका संयाेजक राजेन्द्र महताेले बताउनु भयो।

पछिल्लो समय नेपाली समाजमा अत्यधिक चर्चामा आइरहने केन्द्रको रूपमा स्थापित हुँदै गएपछि “फिब्व ख्य:” (माइतीघर मण्डला)ले एक बेग्लै पहिचान बनाएको हो । राज्यमा आफ्नो कुरा ध्यानाकर्षण विरोध प्रदर्शन गर्न, दबाब सिर्जना गर्न, आ–आफ्नो मुद्दा/माग उजागर गर्न यो सार्वजनिक प्रदर्शनस्थलको रूपमा परिवर्तन भएको छ।