विश्वभर छरिएर रहेका नेवार समुदायलाई एकताबद्ध गर्ने उद्धेश्य सहित स्थापना भएको वर्ल्ड नेवाः अर्गनाइजेसन (डब्ल्यूएनओ) ले दैनिक रूपमा फेसबुक तथा जुममार्फत डब्ल्यूडिवि प्रशारण गर्दै आएको छ । डब्ल्यूडिवि प्रशारणको एक हजार श्रृखंला पुगेको अवसरमा गएको मंगलबार विशेष कार्यक्रम आयोजना गरिएको छ।
डब्ल्यूएनओका केन्द्रीय अध्यक्ष संयुक्त श्रेष्ठको अध्यक्षतामा भएको विशेष श्रंखलाको काठमाडौं महानगरपालिकाकी उप प्रमुख सुनिता डंगोलले डिजिटल रूपमा उद्घाटन गर्नु भयो।
कार्यक्रममा सम्बोधन गर्ने क्रममा महानगरपालिकाकी उपप्रमुख एवमं डब्ल्यूएनओका पूर्व युवा सल्लाहकार तथा डब्ल्यूडिविका पूर्व प्रस्तोता डंगोलले डब्ल्यूडिवि कार्यक्रमले नेवार समुदायलाई एकताबद्ध गर्नका लागि उल्लेखनीय भूमिका खेलेको धारणा व्यक्त गर्नुभयो।

डब्लुएनओका अध्यक्ष संयुक्त श्रेष्ठले डब्ल्यूएनओले युवा नेतृत्वलाई प्रवर्द्धन गर्ने प्रतिबद्धतालाई जोड दिँदै आएको बताउँदै उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो ।
त्यस्तै, कार्यक्रममा डब्ल्यूएनओका निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले डब्ल्यूडिवि कसरी शुरू भयो र के कस्ता चुनौतीहरू नियमित रूपमा सामना गरिरहेको छ भन्नेबारेमा जानकारी दिनु भयो।
डब्ल्यूएनओका संस्थापक अध्यक्ष डा बालगोपाल श्रेष्ठले डब्लुडीबीले एक हजार भन्दा धेरै व्यक्तिहरूको व्यवस्थित तरिकाले डिजिटल रूपमा अभिलेखिकरण गरिसकेको भन्दै यसको महत्त्वका सम्वन्धमा आफ्नो धारणा व्यक्त गर्नु भयो।
डब्ल्यूएनओका कार्यकारी सदस्य एवमं डब्ल्यूडिविका प्रस्तोता डा नरेश मान शाक्यले डब्ल्यूडिविमा अन्तरवार्ता लिइएका अतिथिहरूको लिङ्ग, क्षेत्र र विषय लगायतमा आधारित विभिन्न जनसांख्यिकी तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो।
त्यस्तै कार्यक्रममा अन्तरवार्ता लिइएका अतिथिहरूमध्येबाट चयन गरेर केहि अतिथिहरू पहिचान गर्ने नेवाः म्हसिके खेल पनि खेलाइएको थियो। जुममा सहभागी तथा फेसबुक लाइभ हेरिरहेका दशर्कहरूबाट आएका जवाफहरूमध्येबाट सबैभन्दा धेरै जवाफ दिने अमेरिकाका सुशील ताम्राकारलाई विजेता घोषणा गरिएको थियो।

कार्यक्रममा डब्ल्यूडीबीका अवधारणा विकासकर्ता दीपेश शाक्य, नियमित सहभागीहरू पौभा सायमी, डा सुशील ताम्राकार, डा लोचन मानन्धर, अञ्जना ताम्राकार, द्वारिका राजभण्डारी, विद्या दली लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो।
कार्यक्रममा नेवाः देय् दबुका अध्यक्ष पवित्र बज्राचार्य, नेवाः पासाः पुच अमेरिकायका अध्यक्ष मनोहर श्रेष्ठ, नेवाः अर्गनाइजेसन अफ अमेरिकाका अध्यक्ष महेन्द्र प्रधान, डब्ल्यूडीबीमा अन्तरवार्ता लिइएका अतिथिहरू लगायतको उपस्थिति थियो।
कार्यक्रममा डब्ल्यूडीबीका प्रस्तोता एवमं नियमित सहभागीहरूलाई सम्मानपत्र प्रदान गरिएको थियो भने डब्ल्यूडीबीमा अन्तरवार्ता लिइएका अतिथिहरूको फोटोसहितको पोस्टरहरू पनि प्रदर्शन गरिएको थियो।
जुम तथा फेसबुक लाइभबाट प्रशारण गरिएको उक्त विशेष श्रृखंलामा जुममा सहभागी १५० भन्दा धेरै व्यक्तिहरूविच गोला प्रथा गरेर तीन जनालाई पुरस्कृत गरिएको थियो। विजेताहरूलाई डिजिटल पालबाट प्रायोजित पुरस्कार प्रदान गरिने डब्ल्यूएनओले जनाएको छ।
विशेष कार्यक्रम डब्ल्यूडीबीका प्रस्तोता एवमं युथ एम्बेसेडर नीतु डंगोलले संचालन गर्नु भएको थियो।

