नेवाः नखः न्यूयोर्कको “संस्कृति र आध्यात्मिकतामार्फत जीवन व्यवस्थापन“ को कार्यक्रम

नेवाः नखः न्यूयोर्कले “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ कार्यक्रमको आयोजना गरेको छ ।  नखःले मङ्गलबार आध्यात्मिक गुरु रुपेश्वर गौर दासद्वारा “संस्कृति र आध्यात्मिकता मार्फत जीवन व्यवस्थापन“ शीर्षकमा एक आध्यात्मिक प्रवचनको आयोजना वुडसाइड एभिन्यूको सत्यनारायण मन्दिरको हलमा गरेको हो।

आध्यात्मिक गुरु दासले आफ्नो जीवनकथाबाट  सुरु गर्नु भएको प्रवचनमा आफ्नो संस्कार, बालक मनोविज्ञानदेखि आफ्नो देशमा पढाइको बारेमा जानकारी दिनु भएको थियो । त्यस्तै उहाँले विदेशमा अध्ययन गर्न गएको र त्यहाँको संस्कारले बस्न मन नलागेको उल्लेख गर्दै धर्म र भगवानमा विश्वास नभएको मानिस कसरी आध्यात्मिक बन्न पुग्यो भन्ने बारेमा प्रकास पार्नु भयो । हरेक मानिसका जीवनमा सुखी र आनन्द सँगसँगै दुःख र पीडा आएको हुन्छ भन्दै बाँच्नु र आनन्दपुर्वक बाँच्नुको भिन्नता आकास जमिनको जति भएको बताउनु भयो । जसरी हामी बाहिरी संसार देख्छौँ त्यो भन्दा अझ बृहत संसार हरेकको मनभित्र हुन्छ । मनले नै बुद्धिलाई नियन्त्रणमा राखेको हुन्छ भन्दै आध्यात्मिकतालाई वैज्ञानिक तर्कबाट प्रमाणित गर्नु भयो । मान्छेको प्रकृति फरकफरक हुन्छ र यसलाई सबैले बुझ्न जरुरी छ भन्दै मानिसले आफूलाई कसरी चिन्न सकिन्छ र आफ्नो कर्म कसरी निर्धारण गर्न सकिन्छ भन्ने उदाहरण समेत प्रस्तुत गर्नु भयो ।

शान्त वातावरणमा अति नै रमाइलो पारामा गुरुले प्रवचन दिनु भएको थियो । कार्यक्रमको दोश्रो सत्रमा  प्रश्न उत्तर सत्र राखिएको थियो जसमा धेरै जनाले आफ्ना प्रश्न र जिज्ञासा गुरुसामु राखेका थिए ।

गुरु रुपेश्वर गौर दास नेतृत्वको टोली नेपालबाट न्यूयोर्क पुगेका थिए भने अमेरिका अवतरणपछि उहाँको उक्त कार्यक्रम पहिलो थियो । कार्यक्रमको शुरूमा गुरु रुपेश्वर गौर दास, माता सुरुची, डा. राहुल र विमल तामाङलाई हलमा दर्शकहरू छेउमा उभिएर स्वागत गरेका थिए  भने नखःकी कार्यकारिणी सदस्य राधिका श्रेष्ठले उहाँहरूलाई माल्यार्पण गरि स्वागत गर्नु भएको थियो ।

नेवाः नखः न्युयोर्कका कार्यकारिणी सदस्य एवम् उक्त कार्यक्रमका संयोजक नम्रता प्रधानले स्वागतमन्तव्य राख्नु भएको थियो भने नखःका निवर्तमान अध्यक्ष एवमं सल्लाहकार महेन्द्र वीर बज्राचार्यले संस्थाको संक्षिप्त परिचय दिनु भयो । त्यस्तै नखःकी कार्यकारिणी सदस्य शोभना शाक्यले गुरु रुपेश्वर गौर दासको जीवनीबारे प्रकाश पार्नु भएको थियो । कार्यक्रमको अन्त्यमा नेवाः नखः न्युयोर्कका अध्यक्ष डा. नरेश मान शाक्यले गुरुजी लगायत नेपालबाट आउनु भएका तथा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विसर्जन गर्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन नेवाः नखः न्युयोर्कका महासचिव तुलसी नारायण चित्रकारले गर्नु भएको थियो । दुई सय भन्दा धेरैजनाको प्रत्यक्ष उपस्थित रहेको उक्त कार्यक्रम नेवाः नखः न्युयोर्कको फेसबुकमार्फत लाइभ प्रसारण गरिएको थियो ।