आज उपाकु जाने दिन, पितृ मोक्षको लागि ‘उपाकु वनेगु

काठमाडौं हनुमानढोका परिसरमा आज बिहान लिंगो उठाएसँगै इन्द्रजात्राको रौनक सुरु भएको छ । श्रीकुमारी, श्रीभैरव, श्रीगणेशको रथ यात्रा, देवी नाच, सवःभक्कु, महाकाली, लाखेको मनमोहक नृत्यबीच हर्षोल्लास साथ मनाइने इन्द्र जात्राको अर्को पक्ष पितृ मोक्षको लागि गरिने विभिन्न परम्परा छ।

आठ दिनसम्म मनाइने उल्लासमय इन्द्रजात्राको बीच हुने ‘उपाकु वनेगु’, ‘दागिं’, ‘बौमत’, ‘हाथु हायेकेगु’, ‘यंकीदँ (इन्द्र सरोबर) जाने’ पितृ मोक्षको लागि गरिने जात्रा तथा परम्परा हुन्।

इन्द्र जात्राको पहिलो दिन भदौ शुक्ल द्वादशीको दिन ‘उपाकु वनेगु’ भनेर वर्ष दिनभित्र मृत्यु भएका आफन्तका नाममा उनका परिवार काठमाडौंको भित्री शहरमा नगर परिक्रमा गर्दै दोबाटो, चौबाटो तथा मन्दिरहरूमा काँचो दियो बालेर राख्दै जान्छन् । यसरी काँचो दियो बालेर राख्दै जाने पितृ मोक्षको लागि गरिने परम्परा रहेको उनले बताए।

‘वर्षदिनभित्र मृत्यु भएका आफन्तलाई स्वर्गको बाटो देखाउन भनी यसरी बत्ती दिएर ‘उपाकु यात्रा जाने चलन रहेको छ। नेवा: संस्कारमा काँचो दियो मृत्यु संस्कारमा मात्रै चलाइन्छ ।

यो यात्रा भीमसेनस्थान, भगवतीबारी, चसान, कंग, नरदेवी, रक्तकाली, क्षेत्रपाटी, ठँहिटी, ज्याथा, कमलाछि, भोताहिटी, महाबौद्ध, न्युरोड गेट, टेबहाल, सुन्धारा, बागदरबार, भोटेबहाल, गणबहाल, ताहागल्ली लगन, नायभाचो, चल्खु, ह्युमत, कोहिती हुँदै नगर परिक्रमा गरिन्छ । उपाकु बेला परिक्रमा गर्ने परम्परागत बाटो खड्ग आकारको रहेको मानिन्छ।