काठमाडौँ । प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामा वडा नं. १६ विजेता बनेको छ । लैनचौर फुटसल मैदानमा बुधबार भएको फाइनल खेलमा वडा नं. १६ ले वडा नं. १२ लाई ५–२ गोल अन्तरले जितेको हो । १६ का लागि आयुष कुँवर, रविन निरौला, साजन डङ्गोल र श्रेयान्स मानन्धरले गोल गर्नुभएको थियो । वडा १२ को एउटा आत्मघाती गोल उपहार पाएर वडा नं. १६ को ५ गोल भएको हो । वडा नं. १२ का लागि मनोज महर्जन र सिद्धार्थ देउलाले गोल गर्नुभएको थियो ।
उपाधिसँगै विजेता टोली वडा नं. १६ ले २ लाख रुपियाँ प्राप्त ग¥यो । उपविजेता वडा नं. १२ ले १ लाख रुपियाँ पुरस्कार पायो । वडा नं. १६ का आयुष कुँवर सर्वाेकृष्ट खेलाडी र मनोज महर्जन सर्वाधिक गोलकर्ता बन्नुभयो । यस्तै वडा नं. १६ का सुशान्त महत उत्कृष्ट गोलकिपर बन्नुभयो । उत्कृष्ट सबैलाई जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
असोज १ गतेबाट सञ्चालित प्रतियोगिताको समापन खेलमा खेलाडीहरुलाई हौसला प्रदान गर्न महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) खेल मैदानमा जानुभएको थियो । खेल समापन अवसरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ र वडा नं. २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले पुरस्कार प्रदान गर्नुभएको थियो ।
यस क्रममा महर्जनले प्रयागराजसिंह सुवाललाई सम्झना गर्दै भन्नुभयो, ‘२००७ सालमा प्रजातन्त्र स्थापना भएपछि सम्पन्न निर्वाचनबाट वडाध्यक्ष पदमा निर्वाचित सुवाल एनआरटी क्लवको संस्थापक हुनुहुन्थ्यो । उहाँको स्मरणीय राजनीतिक, खेल र सामाजिक क्षेत्रको योगदानलाई बचाइ राख्न फुटसल खेलको मद्दत गर्नेछ ।’
२०८० सालबाट प्रतियोगिता सुरु भएको हो । यसपटकको खेलमा वडा नं. ७ र २४ बाहेक अरु सबै वडा र महानगरपालिका केन्द्रबाट एउटा टीमले भाग लिएको थियो । नकआउटका आधारमा भएको खेल हरेक दिन विहान ८ बजेदेखि १२ बजेसम्म सञ्चालन भएको थियो ।
आजको दोस्रो खेलमा वडा नं.९ ले वडा नं. २७ लाई २–० गोल अन्तरले पराजित ग¥यो । वडा नंं ९ का लागि दुवै गोल मिङ्मा लामा तामाङ्ले गरेका थिए । यसमा मिङ्मा नै म्यान अफ द म्याच घोषित भए ।
तेस्रो खेल वडा नं. ६ र ११ का बिचमा भएको थियो । यस खेलमा वडा नंं ६ ले ११ लाई ३—२ गोल अन्तरले पराजित ग¥यो । वडा नं. ६ का लागि विपल्व लामा, दिपेश श्रेष्ठ र केशव भण्डारीले १÷१ गोल गरेका थिए । वडा नं. ११ का लागि जनक कोइराला र रितेश महतोले गोल गरेका थिए । खेलमा वडा नं. ६ का केशव म्यान अफ द म्याच घोषित भए ।
खेल शुभारम्भ गर्दै उपप्रमुख डंगोलले, स्वास्थ्य र सकारात्मक सोचका लागि खेलको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । ‘खेल जस्तै अनुशासन र स्वच्छ प्रतिस्पर्धा अन्य पेशाका लागि उदाहरण हो ।’ डंगोलले भन्नुभयो, ‘फुटसल संस्कृतिले युवाहरुलाई गलत काममा लाग्नबाट बचाएको छ ।’
प्रतियोगिताले खेलमार्फत युवाहरुलाई स्वस्थ्य रहन मद्दत गर्ने वडा २३ का अध्यक्ष एवं विधायन समितिका संयोजक मचाराजा महर्जनले बताउनुभयो । उहाँकाअनुसार खेलका विजेता टीमलाई २ लाख रुपैयाँ, उपविजेतालाई टीमलाई १ लाख रुपैयाँ प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र गोलरक्षक १÷१ जनालाई १० हजार रुपैयाँसहितको पुरस्कार दिइनेछ ।
यसप्रकारका खेलले वडाहरुको आपसी सम्बन्ध प्रगाढ बनाउने छ । शुभारम्भ अवसरमा वडा नंं २६ का अध्यक्ष एवं सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, युवा लक्षित खेलका कार्यक्रम बढाउँदै लगिने बताउनुभयो । हामीले खेल मैदान बनाएर आफैँ प्रतियोगिता गराउन सक्ने भएका छौँ । यो खेलप्रति महानगरपालिकाको प्राथमिकताको उदाहरण हो । तिवारीको भनाइ थियो ।
प्रतियोगितामा ३२० युवाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र ५ सय युवा कार्यक्रमका लागि परिचालित हुने अपेक्षा गरिएको छ ।
