न्हूदँ राष्ट्रिय गोष्ठीको १४ बुँदे घोषणा सार्वजनिक गरिएको छ

गत  मंगलवार काठमाडौंको नेपाः ब्यांक्वेटमा न्हूदँ समारोह समिति ११४५ को आयोजनामा भएको बृहत् चियापान कार्यक्रममा १४ बुँदे न्हूदँ राष्ट्रिय गोष्ठीको निर्णय सार्वजनिक गरिएको थियो ।

नेवाः देय् दबू, नेपालभाषा मंकाः खलः, न्हूदँ राष्ट्रिय समारोह समिति ११४४, नेपालभाषा मंकाः खलः यल व विराट नेपालभाषा साहित्य गुथि, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिस्थान, यल नेवाः समाजको संयुक्त आयोजनामा गत नेपाल संवत ११४४ बछलागा तृतीयाका दिन काठमाडौंको बीजी ब्यांक्वेट ग्वंगःबुँमा भएको गोष्ठीमा १४ बुँदे विधि निर्णयको घोषणा समारोह समितिका सदस्य उमेश स्थापितले वाचन गरी सार्वजनिक गर्नुभएको थियो ।

सदस्य स्थापितले नेपाल संवत ११४५ देखि नेपाल संवतलाई लिएर सम्पूर्ण जनताले १४ बुँदे निर्णयलाई सार्वजनिक गर्न र लागू गर्नका निमित्त दवाव दिन समेत अनुरोध गर्नुभयो । नेपाल संवत राष्ट्रिय कार्यशाला गोष्ठीले घोषणा गरेको १४ बुँदे घोषणा यस प्रकार छ । नेपाल संवत ११४४ वछलागा तृतीया बीजी ब्यांक्वेट गोंगःबुँमा भएको नेपाल संवत् राष्ट्रिय कार्यशाला गोष्ठीको घोषणा ।

१) सबै सरकारी दस्तावेज र कामकाजमा नेपाल संवत प्रयोग गर्न दवाव दिने ।
२) नेपाल संवत राष्ट्रिय संवतका रुपमा सरकारी निकायमा प्रयोग नभइरहेका कार्यालयहरुको देशभरको सूचना संकलन गरेर प्रयोग गरेका निकायलाई सम्मान र नगरेकाहरुलाई प्रयोग गर्न दवाव दिने ।
३) राज्यका तर्फबाट नेपाल संवत प्रयोगको वार्षिक प्रतिवेदन सार्वजनिक गराउने ।
४) शंखधर साख्वाः र नेपाल संवतको बारे अध्ययन अनुसन्धानका लागि राज्यबाट अनुसन्धान प्रतिष्ठान गठन गराउने ।
५) संयुक्त राष्ट्रसंघमा नेपाल संवत न्हूदँ (नयाँ वर्ष) को दिनलाई नेपाल डेको रुपमा मनाउने परम्परा रोकिरहेकोमा निरन्तरता दिलाउने ।
६) नेपाल संवत र शंखधर साख्वाःको नामबाट राष्ट्रिय पुरस्कार र सम्मानको व्यवस्था गराउने ।
७) राज्यका तर्फबाट नेपाल संवत मनाउनका लागि बजेट व्यवस्था गराउने ।
८) वित्तीय कारोवार र बैंकमा नेपाल संवत प्रयोग गराउने ।
९) नेपालको मुद्रामा नेपाल संवत पनि उल्लेख गराउने ।
१०) विद्युतीय प्रविधि प्रयोग गरेर नेपाल संवत प्रयोग गर्न सक्न्े कुरा योजनावद्ध प्रचार प्रसार गर्ने ।
११) नेवारहरुले आफ्नो संस्कारहरु मनाउँदा नेपाल संवतअनुरुप मनाउने ।
१२) तिथिमितिअनुरुप चाडपर्व मनाउँदा एउटा समुदायको परम्परालाई अर्को समुदायले सम्मान गर्ने र समुदायको सांस्कृतिक तर्कलाई बहसको विषय नबनाई संयुक्त बैठक बसेर वर्षभरिको सूचना सार्वजनिक गर्ने ।
१३) कार्यक्रमको ब्यानरमा अनिवार्य नेपाल संवत प्रयोग गर्ने ।
१४) शंखधर साख्वाःको शालिक राख्ने अभियान संचालन गर्ने ।