दशैंको रमझम लगत्तै काठमाडौंका साथीभाइसंग दशैंको अनुभव शेयर गर्ने क्रममा एकजना मित्रले अर्को एक मित्र गुमाएको ब्यथा सुनाए । खग्रंगै भएँ । घटस्थापनाको दिन साथी भाइसंग देब देबीस्थल घुमिवरि, ग्वारामरि स्वारामरि ब्रेकफास्ट खाइवरि दिउँसो चङ्गा उडाउने कार्यक्रममा भेला हुँदा अलि अलि जिउ दुखेको,खुट्टा पनि दुखेको सुनाउँदै थिए रे। फूटबल सुटबल खेल्ने गरेकाले खुट्टा दुखेको होला भन्ठानेर हाडजोर्नी बिशेषज्ञको पुगेछ, डाक्टर सापले एक्स रेमा केही नदेखेकोले मांसपेशीमा तनाव(दवाव आएको हुनसक्ने र साह्रै दुखे आयो ब्रुफेन खाने सल्लाह दिनु भएछ । अचाक्ली दुखेपछि आयो आइब्रुफेन खाएछ । भोलि पल्ट स्वास्थ झन् नाजुक अवस्थामा पुगेछ र इमर्जेन्सीमा पुगेछ । अवस्था झन जटिल हुँदै गए र त्यसको भोलिपल्ट हामीलाई छोडेर जानु भए छ ।
यो दुखद कहानीका अदृश्य शक्ति थियो डेंगु । अस्पतालमा रक्त परीक्षण गर्दा डेंगुको बिषाणु भेटिए । डेंगुले जिउ दुखाएको र ज्वरो आएको आभास नहुँदाको दुष्परिणाम थियो त्यो । त्यसमाथि डेंगुको संक्रमण भए पछि यसका भाइरसले हामीलाई निकै गलाउने, जिउ दुखाउने त गर्छ नै, आन्तरिक रुपमा यसले हाम्रो रगतमा प्लेट्लेट्सको संख्या ह्वात्तै घटाइदिने गर्छ । जसले गर्दा आन्तरिक रक्तस्राब हुने, नाथ्रो फुट्ने डर हुन्छ । यस्तो बेला रगतलाई पातलो बनाउने कुनै पनि ओखति खानु भनेको बिष सेवन सरह नै हुने हुन्छ । दुखेको कम गर्ने प्राय पेन किलरमा रगत पातलो गराउने तत्व हुने हुन्छ ।
हो, त्यही भयो । साथीले आइब्रुफेन खानु भयो, जुन खानै हुँदैनथ्यो । सिटामोल बाहेक कुनै पनि दुखाइ कम गर्ने ओखति नलिन बिज्ञहरुले भन्दै आएका छन् । साथीलाई अत्याधिक आन्तरिक रक्तस्राब भएछ, रक्तचापमा गिरावट आएछ र जसको कारण मल्टिपल अर्ग्यान फेलियर भएर जीवन यात्रा टुंगिएछ ।
दुइ तीन बर्ष अघि पनि मैले डेंगुको बारे लेख छपाएको थिएँ । अब त धेरै सचेत भैसके होलान् साथीभाइ तथा आफन्तहरु भन्ठानेको अझै गलत रहेछु । डेंगुको संक्रमणलाई बडा हल्का ढंगले लिएको पाइएको छ । अझ फेसबुक लगायतका सामाजिक संजालहरुमा च्याउ झैँ उम्रिएका युट्युब, इन्स्टा, रिलहरुमा डेंगु र कोरोना भनेको केही हैन, सब ठुला शक्तिहरुको चाल हो षडयन्त्र हो भन्ने भिडियोहरु समाजका अगुवाहरुले नै अन्धाधुन्द शेयर गर्दै गरेको भेटें । डेंगु सत्य हो, यसले जीवन हर्न सक्छ महासत्य हो, आफुलाई मात्र हैन परिवारजनलाई समेत पिर्न सक्छ, ध्रुबसत्य हो । त्यसैले डेंगु बारे दुइ चार कुरा मात्रै याद गरौँ र विपदबाट बचौं ।
१। डेंगु सत्य हो, भाइरसबाट सर्छ । डेंगुको भाइरस बोकेका लामखुट्टेले टोक्दा सर्ने हुन्छ ।
२। बिश्वभर बर्षेनी १० करोड देखि ४० करोड सम्म संक्रमण हुन्छ भने १(२६ प्रतिशत सम्म ज्यानलेवा हुन सक्छ ।
३। लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टेका स्वर्गभूमि ९ जमेको नाला, पानी, फोहर पोखरी आदि ०लाई नष्ट गर्नु नै जोखिमबाट बच्नु हो ।
४। ज्वरो र जिउ दुखाइ, टाउको दुखाइको संयोग छ भने डेंगुको शंकामा डाक्टरी जाँच गराउनु नै पर्छ ।
५। ज्वरो आएको र जिउ दुखेको छ भन्दैमा पेन किलर डाक्टरको सल्लाह बिना खानु हुँदैन ।
६। स्वास्थ अलि गम्भीर जस्तो लागेमा तुरन्तै अस्पताल लानु पर्छ । आन्तरिक रक्तस्राब हुने र ब्लड प्रेसर अत्यन्तै कम हुँदै जाने हुँदा ज्यान जोखिममा पर्न सक्छ ।
