चीनमा कोरोना जस्तै फेरि अर्को भाइरस भेटियो,बिश्वभर चिन्ता

कोरोना महामारी फैलिएको ५ वर्षपछि चीनमा फेरि अर्को नयाँ भाइरसको संक्रमण फैलिएसँगै विश्वव्यापी रुपमा स्वास्थ्य चिन्ता खडा भएको छ  ।यसको लक्षण पनि कोरोना भाइरसजस्तै भएको बताइएको छ । चीनमा हालै कोरोना सँग मिल्दोजुल्दो फ्लू–जस्ता लक्षणहरू भएको श्वास प्रश्वाससम्बन्धी रोग, ह्युमन मेटाप्युमो भाइरस (एचएमपीभी) को फैलावटले विश्वव्यापी रूपमा स्वास्थ्य चिन्ता खडा गरेको हो  ।

चीनपछि भारतमा पनि यो रोग देखा परेको छ । भारतीय संचार माध्यमहरुका अनुसार  सोमबार बेंगलुरुमा एचएमपीभी दुइजना शिशुहरुमा देखा परेको छ ।  जसमा एउटा ३ महिनाको बच्चा र अर्काे  ८ महिनाको बच्चा रहेका छन् ।  तर ती शिशुका आफन्तमा  कुनै पनि  अन्तर्राष्ट्रिय यात्राको इतिहास नरहेको भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । चीनमा यो रोग फैलिएपछि सतर्कता अपनाइएको छ ।

एचएमपीभी पहिलो पटक सन् २००१ मा पहिचान गरिएको श्वासप्रश्वास संक्रमण हो जसले फ्लू जस्तो लक्षणहरू निम्त्याउँछ । यसले सबै उमेरका मानिसहरूलाई असर गर्न सक्ने भएतापनि खासगरी साना बालबालिका (५ वर्ष मुनिका), वृद्धवृद्धाहरू र कमजोर स्वास्थ्य प्रतिरक्षा प्रणाली भएकाहरू उच्च जोखिममा रहने बताइएको छ ।

एचएमपिभीका लक्षणहरू

सिडिसीका अनुसार एचएमपिभीका लक्षणहरू यस्ता छन् :
रुघा खोकी
ज्वरो
घाँटी दुख्ने
सास फेर्न कठिनाइ वा घ्यारघ्यार आवाज (गम्भीर अवस्थामा)
कहिलेकाहीँ, यो संक्रमणले ब्रोंकाइटिस, निमोनिया, वा दमसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ ।