संघीयता सुदृढीकरणदेखि सम्पदा संरक्षणसम्मका एजेन्डा राजाराम तण्डुकारको

ललितपुर । ललितपुर निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि राजाराम तण्डुकारले उम्मेदवारी घोषणा गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ बनाउने, पहिचान र सामर्थ्यमा आधारित संघीयता कार्यान्वयन गर्ने तथा आवश्यक परे संविधान संशोधन वा पुनर्लेखनका लागि संघर्ष गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

एमबीए अध्ययन गरेका तण्डुकार हस्तकला उद्योग तथा व्यापारसँग आवद्ध छन्। उनी अधिकारकर्मी तथा विभिन्न सामाजिक अभियन्ताका रूपमा परिचित छन्। चुनाव प्रचार समितिले सार्वजनिक गरेको एजेन्डाअनुसार तीनै तहका सरकारमा स्थानीय तहजस्तै प्रत्यक्ष निर्वाचित कार्यकारी व्यवस्था लागू गर्नुपर्नेमा उनले जोड दिएका छन्। राज्यश्रोतको आधारमा खर्चको अनुपात मिलाएर प्रभावकारी र समावेशी राज्य संरचना निर्माणका लागि आफूले पहल गर्ने उनको भनाइ छ।

खोला मापदण्डदेखि गुठी आन्दोलनसम्म

तण्डुकारले काठमाडौं उपत्यकामा लागू गरिएको खोला मापदण्डका कारण करिब ८० हजार घरधुरी प्रभावित हुने भन्दै त्यसविरुद्ध १८ महिने आन्दोलनको नेतृत्व गरेको प्रचार समितिले जनाएको छ। उक्त आन्दोलनमार्फत सर्वोच्च अदालतबाट भइसकेको फैसला उल्टाउन सफल भएको दाबी गरिएको छ।

त्यसैगरी, उपत्यकाका रैथाने समुदायको विस्थापन रोक्न, न्यून वा बिना मुआब्जा घरजग्गा गुमाइरहेका सर्वसाधारणको पक्षमा #SaveNepaValley अभियान सञ्चालन, बाह्य चक्रपथ तथा नयाँ उपसहर योजनाका नाममा १ लाख ३० हजार रोपनी भूमि संरक्षणका लागि जनचेतना अभियान चलाएको उल्लेख गरिएको छ।

रानी पोखरी, काष्ठमण्डप लगायत सम्पदाको प्राचीन स्वरूपमै पुनःनिर्माणका लागि दबाबमूलक अभियानमा संलग्न रहेको तथा लगनखेल सप्तपाताल पोखरी पुनर्स्थापना र पुल्चोक नपुखु क्षेत्रमा निर्माण रोक्न भूमिका खेलेको प्रचार टोलीको दाबी छ।

गुठी, मेलम्ची र सडक विस्तारका मुद्दा

तण्डुकार गुठी विधेयकविरुद्धको आन्दोलनमा प्रवक्ताको भूमिकामा देखिएका थिए। साथै मेलम्ची खानेपानी आयोजना ढिलासुस्तीविरुद्ध पनि उनले अभियान चलाएको उल्लेख छ। गैरन्यायिक सडक विस्तारबाट विस्थापित हुन पुगेका नागरिकको निजी सम्पत्तिको अधिकारका पक्षमा निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ छ।

ललितपुरमा ‘कवाडी कर’ सम्बन्धी विवादमा सुधार गराउन पहल गरेको, बटुक भैरवको जग्गा सडक विस्तारका नाममा अतिक्रमण हुनबाट जोगाउन भूमिका खेलेको तथा भक्तपुर सेना ब्यारेकभित्रको रानी पोखरी सार्वजनिक बनाउन आवाज उठाएको प्रचार समितिले जनाएको छ।

संस्कृति, भाषा र वातावरणमा जोड

तण्डुकारले नेवा: समुदायको भूमि, धर्म र सांस्कृतिक पहिचानको संरक्षणसँगै सबै जाति र भाषाको उत्थानमा विश्वास गर्ने बताएका छन्। उपत्यकाको रैथाने नेपालभाषाको सुनिश्चित प्रयोगका लागि पाठ्यक्रम विकासमा भूमिका खेलेको दाबी गरिएको छ।

काठमाडौंलाई ‘हरित शहर’ बनाउने दृष्टिकोणसहित ‘साइकल सिटी’ अवधारणा अघि सारेका उनले विभिन्न स्थानमा साइकल प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आएका छन्। साथै विपद्मा परेका र विभिन्न आन्दोलनका सहिद परिवारलाई राहत तथा सहयोग उपलब्ध गराउने अभियानमा समेत सक्रिय रहेको उल्लेख छ।

खेलकुद र पशु अधिकारमा सक्रियता

फुटबल, क्रिकेट र ब्याडमिन्टनमा विभिन्न क्लबमार्फत सहभागिता जनाउँदै आएका तण्डुकारले नयाँ खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुग्न प्रोत्साहन र सहयोग गर्दै आएको प्रचार टोलीले जनाएको छ। सडक कुकुर तथा पशु अधिकारका विषयमा समेत आवाज उठाउँदै आएका छन्।

‘चिम’ चुनाव चिन्हसहित मत माग्दै

ललितपुर–२ बाट ‘चिम’ चुनाव चिन्ह लिएर प्रत्यक्षतर्फ उम्मेदवार बनेका तण्डुकारले आफूलाई बहुमतसहित विजयी गराउन मतदातासँग अपिल गरेका छन्। “चुनाव नजित्दै पनि जनताको मनमा बस्न सफल भएको” दाबी गर्दै उनले अब संसद्मा पुगेर जनताको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन्।