बज्रयोगिनी जात्राः मूजात्रा सम्पन्न, आज मू भुज्या

काठमाण्डौ- काठमाण्डौको साँखुमा चलिरहेको नेपाल शिरोमणी बज्रयोगिनी माईको जात्राको क्रममा मु जात्रा सम्पन्न भएको छ । एक हप्ता मनाइने जात्राको चौथो दिन हिजो शुक्रबार मु जात्रा अर्थात् मुख्य दिन मनाएको हो ।

जात्रा गएको बैशाख ११ गते बज्रयोगिनी माता, चैत्य भराड, सिंहिणी, व्याघ्रिनी लगायतका देवी देवताहरु रथमा सवार गराई बज्रयोगिनीबाट साँखु बजार ल्याएर शुरू भएको हो भने मुख्य जात्राका क्रममा हिजो बज्रयोगिनीसहित चैत्य भराड, सिंहिणी, व्याघ्रिनी लगायत बसुन्धरा माताको खटलाई सांस्कृतिक बाजागाजासहित साँखु नगर परिक्रमा गराइएको थियो ।

हिजो  ‘जोगीचक्कर’ पूजा गर्ने चलन अनुसार पशुपति मृगस्थलीका कानफट्टा जोगीहरूले  जोगीचक्कर पुजा गरेका थिए ।

जात्राको पाँचौ दिन आज मू–भुज्या हुनेछ ।आजका दिन सरकारी पूजा गरिनुको साथैं बज्रयोगिनी मन्दिरमा रहेको देवीको मूर्ति तथा जात्राका लागि साँखुमा ल्याइएका देवदेवीको मूर्तिमा पोशाक फेरिदिने गरिन्छ । त्यस्तै आज पनि जोगीचक्कर पूजा गरिनेछ।

भोलि छैटौं दिन धुँ भूज्याः भनी सत्ययुगदेखि बाल्दै आएको भनिएको आगो बज्रयोगिनी मन्दिरबाट चलाखु टोलमा ल्याएर बालिन्छ । यसदिन साँखुमा ढिकी राख्न दिएको खुसीमा स्थानीयवासीले साँखुकी महारानीलाई सम्झी पूजा गर्ने चलन छ ।

त्यस्तै सातौं दिन बौविज्या भनी भूतप्रेतलाई पन्छाउने गरिन्छ । आठौं दिनमा थहाँ विज्याः मनाइन्छ।  यसवर्ष बैशाख १८ गते थहाँ विज्याः परेको छ। यसदिन बज्रयोगिनी माईलाई बज्रयोगिनी फर्काउनको लागि विशेष होम गरि साँखुमा पूजा आजा सकिएपछिमात्रै देवी देवताहरु रथमा सवार गराईन्छ।

त्यसको भोलिपल्ट साँखुबाट देवी देवताहरुको रथ बज्रयोगिनी पुर्याएर जात्रा समापन गरिन्छ।

बज्रयोगिनी जात्राकोलागि मल्लकालमा राजा आफै सवारी हुने प्रचलन रहेतापनि अन्तिम मल्ल राजा जयप्रकाश मल्ल युद्धको स्थितिमा भएको हुँदा उहाँले खड्गलाई नै आफ्नो प्रतिनिधित्व मान्नु भनेर पठाएपछि अहिलेसम्म राज खड्ग ल्याउने परम्परा कायमै छ । यसवर्षको जात्राको लागि साँखुमा वैशाख ८ गते  हुनमान ढोका दरबारबाट राजप्रतिनिधिको रुपमा मल्लकालीन खड्ग ल्याइएको थियो ।

बज्रयोगिनीलाई हिन्दु सम्प्रदायले दशमहा विद्यादेवी, बौद्ध सम्प्रदायले बज्रयोगिनी, उग्रतारा र तिब्बती लामाहरुले धोर्ज्येफाम्बू, मनकामना रुपमा पुज्ने गरिन्छ । जात्रा कालिगत सम्वत १८१८ देखि निरन्तर चल्दै आएको र साँखुका राजा शंखदेवले चलाएको भन्ने किंवदन्ती छ ।