काठमाण्डौ महानगरकी उपप्रमुख सुनिता डंगोलको बेलायत भ्रमण, विभिन्न नेपाली समुदायसँग अन्तरक्रिया

बेलायत संवाददाता

काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आउँदो नोभेम्बर महिनामा काठमाडौँमा व्रिटिस काउन्सिलसँगको सहकार्यमा ’वुमन अफ द वर्ल्ड (वाउ)’सम्मेलन आयोजना गर्ने बताउनुभएको छ। वेलायतको मेनचेष्टरको अभोभा स्टुडियोमा आयोजना भएको वाउ सम्मेलनमा सहभागीता जनाउँदै उहाँले यस्तो घोषणा गर्नु भएको हो। उपप्रमुख डंगोलले लैङ्गिक समानता र समावशीकरणका लागि सकारात्मक परिवर्तन गराउन महिलाहरुको आवाजलाई सशक्त बनाउन यस्ता  कार्यक्रम महत्वपूर्ण रहने बताउनुभयो।

व्रिटिस काउन्सिलको निमन्त्रणामा उहाँको नेतृत्वमा २७ वडाकाे महिला वडा सदस्य सृष्टि तुलाधर र महानगर पालिकाका कर्मचारीहरू शिर्जु प्रधान तुलाधर र कुमारी राईको टोलीले बेलायत भ्रमण गरेको हो। में महिनाको २४ देखि २६ तारिखसम्म भएको सम्मेलनमा विश्वका विभिन्न क्षेत्रका प्रभावशाली महिला व्यक्तिहरूलाई स्वागत गर्ने क्रममा राजनीति क्षेत्रबाट अष्ट्रेलियाकी प्रथम महिला प्रधानमन्त्री जुलिया गिलार्ड र उपप्रमुख डंगोल छनौटमा पर्नु भएको थियो।

स्थानीय, राष्ट्रिय र अन्तरराष्ट्रिय क्षेत्रका महिलाहरुकाबिच अन्तरक्रिया र अनुभव आदानप्रदान हुने सम्मेलन हरेक बर्ष आयोजना हुने गरेको छ । अहिलेसम्म विश्वका ६ महादेशका ४५ भन्दा वढी स्थानहरुबाट ५० लाख भन्दा वढी व्यक्तिहरुले सहभागिता जनाइसकेका छन् ।

एकहप्ता लामो बेलायत भ्रमणको क्रममा उपप्रमुख डंगोलले  विभिन्न संघसंस्था र समुदायसँग अन्तरक्रिया गर्नु भएको छ।  

संयुक्त अधिराज्यको २ शताब्दी  पुरानो संस्था ‘रोयल जियोग्राफिकल सोसाइटी’, मानविकी तथा समाजशास्त्रको राष्ट्रीय प्रतिष्ठान ‘बृटिश एकेदेमी’ र ब्रुनेल विश्वविद्यालयको आयोजनामा मे ३१ तारिखका दिन भएको ‘इण्डिजिनाइजिंग दि हिमालयज्’  कार्यक्रममा उहाँले ईन्द्र जात्राको परिचय दिदैं यस्तो महत्वपूर्ण पर्वलाई काठमाण्डौं महानगरपालिकाले राष्ट्रीयकरण र अन्तराष्ट्रीयकरण  गरिरहेको बताउनु भयो।

उहाँले कार्यक्रममा सहभागीहरूलाई यसवर्षको इन्द्रजात्रामा भाग लिनको लागि पनि निमन्त्रणा दिनु भएको थियो। कार्यक्रममा १०० भन्दा धेरै व्यक्तिको उपस्थिति थियो।

त्यस्तै उहाँले मे ३० तारिखका  दिन अक्सफोर्ड विश्वविद्यालयमा भएको ‘दि जेन्ट्रिफिकेशन अफ् काठमाण्डु’ विषयक गोष्ठीमा कार्यपत्रया प्रस्तुत गर्नु भयो।   ऐतिहासिक नगर काठमाण्डौंमा शहरीकरणबाट सिर्जित चुनौतिँसँगै  त्यहाँको सांस्कृतिक र सामाजिक सम्पदालाई संरक्षण गर्नका लागि महानगरपालिकाको नेतृत्वमा भैरहेका विभिन्न परियोजनाया बारे जानकारी  दिनु भयो ।

अक्सफोर्ड विश्वविद्यालयमा  संलग्न विभिन्न प्राज्ञहरूले भाग लिनु भएको गोष्ठीमा प्राध्यापक डेविड गेल्नर र प्राध्यापक दिवाकर आचार्यले  उपप्रमुख  डंगोलसँग  प्राज्ञिक अन्तरक्रिया गर्नु भएको थियो।

त्यस्तै मे २८ तारिखमा लण्डनको साउथ केन्जिंगटनस्थित नेपालको राजदूतावासमा भएको अन्तरक्रियामा उपप्रमुख सुनिता डंगोलले  काठमाण्डौं महानगरपालिकाले संचालन गरेका विभिन्न आर्थिक, औद्योगिक, सांस्कृतिक र सामाजिक विकास परियोजनाकाबारेमा प्रस्तुति दिनु भएको थियो।

भ्रमणका क्रममा उहाँले म्यान्चेष्टर, एडिनबरा, अक्सफोर्ड, केण्ट र लण्डनका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायसँग पनि  अन्तरक्रिया गर्नु भएको थियो।