३०औं अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा काठमाडौंमा विभिन्न आदिवासी जनजातिहरुले र्याली निकालेका छन् । आदिवासी तथा जनजातिका विभिन्न संस्थाहरूले आफ्नो परम्परा र संस्कृति झल्कने पहिरन लगाएर बाजागाजा र नाचगानसहित र्याली निकालेका हुन् । मगर, थारु, नेवा: , तामाङ, राई, लिम्बूलगायत जातीय संस्थाहरुले आ-आफ्नो ब्यानरमा र्याली निकालेका छन् । र्यालीमा सहभागीहरु परम्परागत पोशाकमा सजिएका छन् ।
यसै गरि तनहुँका आदिवासी जनजातिले ३० औं विश्व आदिवासी जनजाति दिवस धुमधामसँग मनाइरहेका छन्। तनहुँको सदरमुकाम दमौलीमा जातीय पहिचान झल्किने भेषभूषासहित सांस्कृतिक झाँकी प्रदर्शन तथा सास्कृति कार्यक्रम गरी धुमधामसँग मनाइरहेका छन्।
तनहुँका सबै पालिकाले ३०औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवसका अवसरमा शुक्रबार सार्वजनिक बिदा दिएका छन्। तनहुँ आदिवासी जनतातिको बाहुल्य रहेको ठाउँ भएकाले पनि आदिवासी दिवसको अवसरमा तनहुँका ४ नगरपालिका र ६ गाउँपालिका गरी १० वटै स्थानीय तहले आज बिदा दिएका हुन्।
मौलिक पोसाकमा सजिएका जनजातिहरुले कौरा नाच, घाँटुनाच, लाखे नाच, लोपोन्मुख अवस्थामा रहेको सोरठी भाकामा गीत गाउँने, पञ्चे बाजा बजाउँदै दमौली बजार परिक्रमा गरेका थिए। सांस्कृतिक विभिन्न आदिवासी जनजाति समुदायका युवायुवती र पाका पुस्ताको सहभागिता छ।
