अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको ह्वाइट हाउसले पुष्टि गरेको छ ।
ह्वाइट हाउसका एक अधिकारीले युक्रेनलाई दिँदै आएको सैन्य सहायतामा रोक लगाएको बीबीसीले जनाएको हो । अधिकारीले भनेका छन्, ‘हामी हाम्रो सहायता रोकिरहेका छौं र पुनरावलोकन गर्दैछौं ताकि यो सुनिश्चित गर्न सकियोस् कि यसले समाधानमा योगदान पुर्याइरहेको छ’।
अमेरिकाको यो कदम ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भएको चर्को बहसपछि चालिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार रुसले आक्रमण शुरु गरेयता युक्रेनलाई हतियार, उपकरण र आर्थिक सहयोग सहित सैन्य सहायताको सबैभन्दा ठूलो स्रोत अमेरिका रहँदै आएको छ ।
यसैबीच बेलायती प्रधानमन्त्री केइर स्टार्मरले युक्रेनसँग युद्ध अन्त्य गर्न र रुसबाट देशलाई जोगाउन चार सूत्रीय योजना को घोषणा गरेका छन् । तर, युरोपेली नेताहरूले आइतबार भएको शिखर सम्मेलनपछि अमेरिकी सहयोगबिना युक्रेनमा शान्तिको प्रत्याभूति दिन नसकिने बताएको समाचारमा उल्लेख छ ।
