आज ने.सं. ११४५ दिल्लाथ्वः षष्ठी, मंगलबार (असार १७ गते) कीर्तिपुर नगरपालिका वडा नं. ६ क्वय्ना (जलविनायक)मा च्वबहाः गल्छीलाई लिएर सार्वजनिक सुनुवाई भएको छ । कीर्तिपुर नगरपालिका ६ वडा कार्यालयको आयोजनामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बागमती सभ्यता विकास परियोजनाका एक इन्जिनीयरले बोल्ने क्रममा च्वबहाः गल्छीबाट २० मिटर माथि सरसफाइ गर्ने र बाधा भइरहेको ढुंगा मात्र फुटाउने भन्ने कुरा आएको समयमा उक्त सुनुवाईमा सहभागी जनसमुदायहरुमा आक्रोश देखिएका छन् । त्यसै गरी आयोजक कीर्तिपुर नगरपालिका ६ वडाका वडाध्यक्ष खीरमान सिंह बस्नेतले च्वबहाः गल्छी र सार्वजनिक सुनुवाईको विषयमा आफ्नो धारणा राख्नुभएको हो ।
कीर्तिपुरको उक्त ६ वडाबाटै च्वबहाः गल्छीमा काम गर्न सिफारिस दिइएको थियो । सार्वजनिक सुुुनुवाईमा उपस्थित जनसमुदायबाट मन्तब्य राख्ने क्रममा च्वबहाः गल्छीको ढुंगा फुटाउन नपाइने र ऐतिहासिकतालाई यथावत राख्नु पर्ने कुरामा अडान राख्दै यदि सरकारले च्वबहाः गल्छीलाई बिगार्ने काम गरेमा रगतको खोला बग्ने भनी आक्रोशयुक्त भनाई पनि ब्यक्त भएको छ ।
यसै क्रममा काठमाण्डौं १० नम्बर क्षेत्रका प्रतिनिधि सभा सांसद तथा भू.पू. मन्त्री राजेन्द्र कुमार केसीले च्वबहाः गल्छीलाई केही हुन नदिइने र कसैले रगतको खोला बगाउन आवस्यक नरहेको भनी यस कुरामा आफ्नो बचन भयो भन्ने कुरा राखी सार्वजनिक सुनुवाईबाट बिदा हुन लाग्दा जनआक्रोश देखिएको हो । यस बेला नाराबाजीका साथमा तनावको स्थिति समेत सृजना भई मुठभेदको परिस्थिति समेत देखिएको थियो ।
सार्वजनिक सुनुवाईमा सहभागी जनसमुदायबाट भनिएको छ कि, “स्वयं काठमाण्डौं १० नम्बर क्षेत्रका प्रतिनिधि सभा सांसद राजेन्द्र कुमार क्षेत्रीको आदेशमा नं कीर्तिपुर नगरपालिका ६ वडाका वडाध्यक्ष बस्नेतले च्वबहाः गल्छीमा काम गराउनका निमित्त सिफारिस दिइएको हो । शहरी विकास मन्त्री प्रकाश मान सिंह, सांसद राजेन्द्र कुमार के सी समेतको आदेशमा नै वडाध्यक्षले सिफारिस दिइएको हो ।
यदि सम्बन्धित वडाले सिफारिस नदिइएको हो भने यसरी सार्वजनिक सुुनुवाई र च्वबहाः गल्छीलाई लिएर यस्ता लफडा हुने थिएन ।” सार्वजनिक सुनुवाईमा सहभागी सम्पूर्ण जनसमुदायका तर्फबाट च्वबहाः गल्छीमा काम गर्न दिन नहुने पक्षमा सहमती जनाइएको छ । यसै क्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख कृष्णमान डंगोलले च्वबहाः गल्छीलाई जसले सिफारिस दिएको भए पनि च्वबहाः गल्छीलाई छुन नदिइने कुरा राख्दै गल्छी काट्ने कुरा छोडौं, एउटा ढुंगा पनि पन्छाउन नदिइने र यदि सेनाले डोजर लिएर आएमा डोजरमुनि पल्टिने पहिलो ब्यक्ति आफू स्वयं नै हुने भनी मन्तब्य राख्नुभएको छ ।
सार्वजनिक सुनुवाईमा सहभागी जनसमुदायले च्वबहाः गल्छीमा काम गर्नका निमित्त ६ वडाले सिफारिस दिइएको विषयलाई लिएर सांसद राजेन्द्र कुमार केसी र कीर्तिपुर नगरपालिकाबाट खण्डन पत्र सार्वजनिक गर्नुपर्ने माग समेत गरिएको छ ।
च्वबहाः गल्छीलाई लिएर आज मंगलबार भएको सार्वजनिक सुनुवाईमा जन आक्रोशका कारण अब च्वबहाः गल्छीमा ढुंगा फुटाउने कार्यबाट सरकार पछि हट्ने हो कि भन्ने कुरा पनि जनसमुदायबाट आएको छ । त्यसै गरी, उक्त सार्वजनिक सुनुवाईमा डुवानको विषयमा च्वबहाः गल्छी बाधक नभएको र खोला मापदण्ड मिचेर नदीमा घर बनाउन आएकाहरु नै बाधक भएको कुरा पनि जनसमुदायबाट राखिएको छ । हजारौं वर्ष सम्म पनि बाधक नभएको च्वबहाः गल्छी न्हसिकाप अहिले आएर कसरी बाधक भयो भन्ने प्रश्न राख्दै च्वबहाः गल्छीको अस्तित्व जस्तो हो त्यस्तै राख्नु पर्ने कुरामा उपस्थित सम्पूर्ण जनसमुदायहरु एकमत भएका छन् ।
