काठमाडौँ — बकर इद (इद-उल-अज्हा) र गणतन्त्र दिवस एकै समयमा परेपछि आजदेखि देशभर लगातार चार दिन सार्वजनिक बिदा परेको छ । यसका कारण सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था लगायतका सार्वजनिक सेवाहरू सोमबारसम्म बन्द रहने भएका छन् ।
सरकारले मुस्लिम समुदायको महान् पर्व बकर इदको अवसरमा आज जेठ १४ गते बिहीबार सार्वजनिक बिदा दिएको हो । गृह मन्त्रालयले मुस्लिम आयोगको सिफारिसका आधारमा देशभर बिदा दिने निर्णय गरिएको जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सम्पूर्ण मुस्लिम समुदायमा शुभकामना व्यक्त गर्दै बकर इदको सम्मानस्वरूप सार्वजनिक बिदा दिइएको उल्लेख छ ।
त्यसैगरी शुक्रबार जेठ १५ गते गणतन्त्र दिवसका कारण नियमित सार्वजनिक बिदा परेको छ । त्यसपछि शनिबार र आइतबार साप्ताहिक बिदा परेकाले लगातार चार दिन सरकारी तथा सार्वजनिक सेवा ठप्प हुनेछन् ।
अब सरकारी कार्यालय तथा सार्वजनिक सेवाहरू आगामी सोमबार जेठ १८ गतेदेखि पुनः सञ्चालनमा आउनेछन् ।
