रसुवाको नेपाल–चीन सीमाक्षेत्र भोटेकोशीमा बाढी हिमताल फुटेर आएको प्रारम्भिक अनुमान गरिएको छ। स्याटलाइट अध्ययनअनुसार तिब्बत क्षेत्रमा रहेको एक हिमताल फुट्दा एक्कासी बाढी आएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्राधिकरणले बाढी आउनुअघि भोटेकोसीको माथिल्लो भू–भागमा भारी वर्षा नभएको जानकारी दियो। स्याटलाइट अध्यनमा एक हिमताल फुटेको देखिएको र त्यसकै कारण बाढी आएको अनुमान गरिएको प्राधिकरणका कार्यकारी प्रमुख ईन्जिनियर दिनेशप्रसाद भट्टले जानकारी दिए।
तर बाढीबारे विस्तृत अध्ययन हुन भने बाँकी रहेको उनले बताए। उनअनुसार बाढी हिमतालका कारण आएको भन्नेबारे त्यस क्षेत्रमा रहेको एक हिमतालको पानी घट-बढको अवस्थालाई हेरिएको छ।
‘७ जुलाई (२३ असार)मा हिमतालमा ६ लाख ३८ हजार स्क्वायर मिटरसम्म पानी भएको देखिन्छ। तर ८ जुलाईमा एक्कासी घटेर ४ लाख ३५ हजारमा स्क्वायर मिटरमात्र पानी हुनुले त्यस हिमताल फुटेर बाढी आएको अनुमान गर्न सकिन्छ’, उनले भने।
भट्टले हिमताल फुट्नुअघि हिमताल तल्लो क्षेत्र (कुलो)मा सुक्खा रहेको र ८ जुलाई बाढीपछि हिमतालको तल्लो क्षेत्रमा भिजेको देखिनुले पनि भोटेकोशीमा सोही हिमताल फुटेको अनुमन गर्न सकिने बताए।
उनले वर्षाका कारण आउने बाढी विस्तारै बढ्ने तर भोटेकोशीमा मंगलबार आएको बाढी एक्कासी पुल बगाउने गरी बढेको देखिएकाले यसलाई सामान्य वर्षाका कारण बाढी आएको भन्न नसकिने पनि बताए।
बाढीको क्षतिको विवरण अझै संकलन भइसकेको छैन। बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल पूर्णरुपमा बगाएको छ। भौतिक संरचनामात्र होइन बाढीले मानवीय क्षति पनि गरेको छ। मंगलबार बिहान ३ बजेतिर आएको बाढीमा परी नौ जनाको मृत्यु भयो। १९ जना बेपत्ता भएका छन्।
बुधबार साँझसम्म बेपत्ताहरूको अवस्था पत्ता लाग्न सकेको छैन। बेपत्ताहरूको खोजीका लागि प्रहरी परिचालन भइरहेको प्राधिकरणका प्रमुख भट्टले जानकारी दिए। उक्त बाढीमा परी १ जना घाइते भएका छन्।
बाढीले भन्सार कार्यालयमा राखिउका २४ वटा कन्टेनर, ३५ वटा ईभी गाडी र ६ वटा ट्रक पनि बगाएको छ। बाढीले स्याप्रुवेसीदेखि मितेरीसम्मको बाटोमा क्षति गरेको छ भने अहिले यस क्षेत्रमा यातायात पूर्णरुपमा बन्द गरिएको छ।
यस सडकखण्ड चीनले बनाइरहेको भन्दै भट्टले छिटो सडक र पुल निर्माण गर्न चीन सरकारसँग समन्वय गरिने बताए।
