संगीतकर्मी गायक गीतकार विष्णु जल्मि रहनु भएन ।

नेपालभाषा, साहित्य र संगीत क्षेत्रमा अतुलनीय योगदान गर्दै आउनु भएका वरिष्ठ संगीतकर्मी, गायक, गीतकार र संगीतकार विष्णु जल्मि हामीमाझ रहनु भएन । वरिष्ठ संगीतकर्मी विष्णु जल्मि बित्नु भएको जानकारी प्रसिद्ध संगीतकार सुरेन्द्र श्रेष्ठले आफ्नो फेसबुक मार्फत जानकारी गराउनु भएको हो ।

स्वर्गीय जल्मि प्रसिद्ध संगीतकार जीवित जल्मिका साथै प्रसिद्ध फ्यूजन ब्याण्ड कुटुम्बका पवित जल्मिका बाजे हुनुहुन्छ । नेपालभाषा संगीत क्षेत्रका एक भरपर्दा स्तम्भ, एक चम्किला तारा संगीतकर्मी विष्णु जल्मिले सिर्जना गर्नुभएको एक सय भन्दा बढी गीतहरु मध्ये अधिकांश गीतहरु लोकप्रिय छन् ।

चार दशक अघि (वि.सं. २०४१ साल)देखि अनवरत रुपमा स्वर्गीय विष्णु जल्मिको सिर्जना नेपालभाषाको गीति एल्बम ‘लाय्‌लामा’ भाग १ देखि ८ सम्म र अन्य एल्बमहरु ‘ग्वय्‌स्वांमाः’ भाग १ देखि ३ सम्मका साथै ‘लिसवाः’ (वि.सं. २०५५ साल)सम्म निस्किएका यी एल्बमहरु तत्कालीन समयमा विक्री वितरणमा अग्र स्थानमा रहेका एल्बमहरु हुन् ।

स्वर्गीय विष्णु जल्मिका सिर्जनामा जनगायक भृगुराम श्रेष्ठ, गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधान, हास्य सम्राट मदनकृष्ण श्रेष्ठ, रत्न बेहोशी, योगेश वैद्य, तीर्थ कुमारी, जुजुकाजी रन्जित, ज्ञानु राणा, मीरा राणा, संगीता शाक्य थापा, कुन्ती मोक्तान, सत्य नारायण मानन्धर, सपनाश्री परियार, राजेश्वरी श्रेष्ठ, रचना जिसी लगायत तत्कालीन समयमा रेडियो नेपालबाट भ्वाइस टेष्ट उतीर्ण भएका धेरै संगीतकर्मीहरुले आवाज दिनुभएका छन् ।

विष्णु जल्मिको सिर्जना ‘म्ह ज्यः थें ज्या मज्यःनि …’ बोलको गीतको म्यूजिक भिडियोमा स्वयं विष्णु जल्मिले पिताको भूमिका निर्वाह गर्नुभएको छ । विष्णु जल्मिको सिर्जना ‘लाय्‌लामा’ भाग १ तत्कालीन समयमा ७१ हजार वटा विक्री भएको गीति एल्बम हो । कूल घर ललितपुरको हरिसिद्धि भएका विष्णु जल्मि केही समय अगाडिदेखि अस्वस्थ हुनुभएको थियो । पुग नपुग ९७ – ९८ वर्षका जल्मि आफ्नै घर न्यूरोड फसिकेबमा आज अकस्मात वित्नु भएको हो ।