सांगीतिक क्षेत्रका नव प्रतिभा मितेश ताम्राकारको लेखन, संगीत तथा आवाज र विश्वास बज्राचार्यको निर्देशनमा येँयाः पुन्हि म्यूजिक भिडियोको गतः शुक्रबार सिडिसि मलमा प्रिमियर भएको छ । काठमाण्डौं महानगर पालिकाका उपमेयर सुनिता डंगोल मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा ललितपुर महानगर पालिका वडा नं. १६ का वडाध्यक्ष निर्मल रत्न शाक्य र नेपालभाषाका प्रथम सिने पत्रकार विजय रत्न असंबरे विशेष अतिथिको रुपमा सहभागी हुनुभएको छ ।
उक्त कार्यक्रममा मुख्य अतिथि डंगोलले म्यूजिक भिडियोको प्रशंसा गर्दै भन्नुभयो,– हरेक ब्यक्तिले आफ्नो काम उत्कृष्ट तरिकाले गरेकाले यस भिडियो हेर्दा अहिले नै येँयाः पुन्हि (इन्द्रजात्रा) आइसकेको जस्तो लाग्दछ, जवबि येँयाः पुन्हि आउन अझै एक हप्ता बाँकी छ । गीतलाई बाल बालिकाहरु तथा नयाँ पुस्ता बिच लान सकियो भने गीत अझै चर्चित भई नयाँ नयाँ रेकर्ड राख्न सफल हुन्छ । यस गीत पनि बाल बालिकाहरुको मुखमा रहन सक्ने गीतकै पंक्तिमा पर्दछ ।
गायक मितेस ताम्राकारले आफ्नो ब्यवसायिक क्रियाकलापका कारण फुर्सद नभए पनि नेपालभाषाको गीत गाउन आफू सधै अग्रसर भइरहेको कुरा राख्नुभयो । यस भिडियोको समीक्षाको क्रममा समीक्षक विजय रत्न असंबरेले नेपालभाषाको म्यूजिक भिडियोको क्षेत्र झनै फराकिलो हुँदै आएको र यस भिडियो निकै राम्रो भएको भनी प्रशंसा गर्नुभयो ।
कार्यक्रममा भिडियोको गायिका निभाः डंगोल, प्रशंसा रायमाझी र गायक मनोज डंगोलले पनि मन्तब्य राख्नुभएको थियो । यस म्यूजिक भिडियोमा मनोज महर्जन, प्रशंसा रायमाझीका साथै अन्य धेरै कलाकारहरुको अभिनय रहेका छन् ।
यस गीतमा लेखन, संगीत र स्वर मितेस ताम्राकारले दिनुभएको छ भने महिला स्वर निभाः डंगोलले दिनुभएको छ । गीतको संगीत संयोजन फिरोज बज्राचार्यले गर्नुभएको छ । यस भिडियोको कोरियोग्राफी रोहिया महर्जन, सम्पादन आकृष्ट शाक्यले गर्नुभएको छ भने छायाँकन सोहन मानन्धरले गर्नुभएको छ ।
