नेवाः फिल्म सोसाइटीद्वारा चलचित्र छायांकन तालिम सम्पन्न, युवालाई प्राविधिक र सिर्जनात्मक सीप प्रदान

चलचित्र विकास बोर्डको सहकार्य तथा नेवाः फिल्म सोसाइटीको आयोजनामा नेवाः समुदायका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको चलचित्र छायांकन तालिम तथा कार्यशाला गोष्ठी मंगलबार सम्पन्न भएको छ ।

तालिमको अन्तिम दिन वरिष्ठ भिजुअल एडिटर मानिकरत्न तुलाधर ले तालिमको महत्वबारे प्रकाश पार्दै सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

गत जेठ ८ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको उक्त तालिम तथा कार्यशाला काठमाडौं महानगरपालिका–२५ स्थित जनबहाल मच्छिन्द्र क्लबको भवनमा आयोजना गरिएको थियो ।

नेवाः युवा पुस्तामाझ चलचित्र क्षेत्रमा छायांकनसम्बन्धी प्राविधिक ज्ञान, सिर्जनात्मक दृष्टिकोण तथा व्यावहारिक सीप विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । तालिमले सहभागीहरूलाई चलचित्र निर्माण क्षेत्रबारे व्यावहारिक अनुभव र थप प्रेरणा प्रदान गरेको विश्वास पनि आयोजकको छ ।

सोसाइटीका अध्यक्ष लुःजः सिंह ले आगामी असार महिनासम्म चलचित्र क्षेत्रमा सञ्चार क्षमता विकास तालिम, वृहत् छायांकन तालिम तथा उद्घोषण तालिमसमेत सञ्चालन गर्ने योजना रहेको जानकारी दिनुभयो ।

समापन कार्यक्रममा सोसाइटीका आजीवन तथा साधारण सदस्यहरूलाई परिचयपत्र वितरण गरिएको थियो । साथै संस्थाका सल्लाहकार नीर शाह, मानिकरत्न तुलाधर तथा प्रकाश सायमी लाई सम्मानसमेत गरिएको थियो ।

तालिम तथा कार्यशालामा सिनेमाटोग्राफर दीपक बज्राचार्य, लुःजः सिंह, गौतम श्रेष्ठ तथा फोटोग्राफर अमरेन्द्र श्रेष्ठ लगायतका व्यक्तित्वहरूले प्रशिक्षण दिएका थिए ।