स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा रियलले रियल भालाडोलिटलाई ६-० गोल अन्तरले हराएको हो ।
रियलको फराकिलो जितमा करिम बेन्जिमाले ह्याट्रिक गोल गरे । यस्तै रोड्रिगो, मार्को एसेन्सियो र लुकास भाज्क्वेजले एक एक गोल गरे । खेलको २२ औं मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई सुरुआती अग्रता दिलाएका थिए ।
२९ औं मिनेटमा बेन्जिमाले रियलको अग्रता दोब्बर बनाए ।खेलको ३२ औं मिनेटमा बेन्जिमाले व्यक्तिगत दोस्रो गोल गर्दा रियलको अग्रता तेब्बर बन्यो । ३६ औं मिनेटमा बेन्जिमाले ह्याट्रिक पूरा गरेपछि रियलको अग्रता ४-० को बन्यो ।
खेलको ७३ औं मिनेटमा एसेन्सियोले गोल गर्दा रियल ५-० ले अघि रह्यो ।त्यसपछि खेलको इन्जुरी समयमा लुकासले गोल गर्दै रियललाई ६-० को जित दिलाए ।जितसँगै रियलले २७ खेलमा ५९ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । भालाडोलिट २८ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।
