भाइदेग मन्दिर पुनःनिर्माणका लागि १४ लाख रूपैयाँ सहयोग

ललितपुर – रोटरी क्लब अफ पाटन हेरिटेजले पाटन दरबार क्षेत्रमा रहेको भाइदेगः मन्दिर पुनःनिर्माणका लागि रु १४ लाख संस्कृति सम्पदा संरक्षण समूहलाई हस्तान्तरण गरेको छ ।

रोटरी क्लब अफ पाटन हेरिटेजका संस्थापक अध्यक्ष गणेश कार्कीले संस्कृति सम्पदा संरक्षण समूहका अध्यक्ष पृथ्वीबहादुर पाँडेलाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । रोटरीले १९९० सालको भुइँचालोले भग्नावशेष बनाएको भाइदेग मन्दिर पुनःनिर्माणका लागि सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरेर सङ्कलन गरेको रकमको चेक उपलब्ध गराएको हो ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपाल सरकारको सार्वजनिक खरिद ऐनका कारण सम्पदा निर्माण तथा पुनःनिर्माणमा गुणस्तरीय काम हुन नसक्ने बताउनु भयो । उहाँले महानगरले भाइदेग मन्दिर पुनःनिर्माणका लागि अहिलेसम्म १ करोड २३ लाख  रूपैयाँदिइसकेको जनाउँदै यस वर्षका लागि ५० लाख रूपैयाँ छुट्याइएको जानकारी गराउनु भयो ।

कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले सम्पदा जोगाउन सबै एकजुट हुनुपर्ने बताउनु भयो ।

क्लबले गत फागुन ६ गते शिवरात्रिका दिन मङ्गलबजारदेखि कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म सम्पदा यात्रा गरेर ८९ वर्ष अघि भत्किएर लोप भइसकेको मन्दिर पुनःनिर्माणका लागि उक्त रकम जुटाएको थियो ।