भुटानका कप्तान चेन्चो मछिन्द्रमा अनुबन्धित

भुटानी राष्ट्रिय फुटबल टोलीका कप्तान तथा फरवार्ड चेन्चो ग्याल्सेन सहिद स्मारक ‘ए’ डिभिजन लिगको साविक विजेता मछिन्द्र फुटबल क्लबमा अनुबन्धित भएका छन् ।

मछिन्द्रले सोमबार एक कार्यक्रमको आयोजना गर्दै चेन्चोलाई लिग अवधिभरको लागि अनुबन्ध गरिएको जनाएको छ । सम्झौतामा मछिन्द्रका अध्यक्ष सुनिल कपाली र चेन्चोले हस्ताक्षर गर्दै आदान–प्रदान गरे । उनीहरुको सम्झौता रकम खुलाइएको छैन ।

सम्झौतासँगै भुटानी रोनाल्डोको नामले चर्चित चेन्चो लिगको छैटौं चरणकाे खेलदेखि मछिन्द्रको जर्सीमा देखिने छन् । उनले ७७ नम्वरको जर्सी नै लगाउनेछन् । मछिन्द्रमा अनुबन्ध भएसँगै चेन्चोले नेपालको लिग पहिलोपटक खेल्न लागेको र नयाँ चुनौती र यात्राको प्रतिक्षामा रहेको बताएका छन् ।

चेन्चोले नेपाली राष्ट्रिय टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङसँगै भारतको आई लिग क्लब पन्जाब एफसीबाट खेलेका थिए । पन्जाब लिगको उपाधि जित्दै सुपर लिगमा उक्लिएको छ । चेन्चोले आई लिगमा १२ खेलमा ३ गोल गरेका थिए ।

यस सिजन मछिन्द्र खराब लयबाट गुज्रिरहेको मछिन्द्र पाँच चरणको समाप्तिमा ४ अंक जोडेर ११औं स्थानमा रहेको छ । टोलीका नियमित कप्तान सुजल श्रेष्ठ र विशाल राई अष्ट्रेलिया गएसँगै मछिन्द्रको प्रदर्शन सोचेअनुरुपको हुन सकेको छैन ।

चेन्चो दुई साता यता नेपालमै छन् । उनी ९ देखि १७ चैतसम्म काठमाडौंमा आयोजना भएको प्रधानमन्त्री थ्री नेसन्स कप दौरान नेपाल आएका थिए । चेन्चोको कप्तानीमा रहेको भुटान समूह चरणबाटै बाहिरिएको थियो ।

१७ गते भएको फाइनलमा नेपालले लाओसलाई २–१ ले पराजि तगर्दै उपाधि जित्न सफल भएको थियो । थ्री नेसन्स कपमा भुटानले नेपालसँग इतिहासमै पहिलोपटक १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।