एभर्टन र टोटेनहम हटस्परले इंग्लिस प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडेका छन् । एभर्टन र टोटेनहमले १–१ गोलको बराबरी खेलेको हो ।
टोटेनहमका ह्यारी केनले गोल गर्दा एभर्टनका माइकल किनले बराबरी गोल फर्काए । दुवै टोली १० खेलाडीमा समेटिन पुगेको थियो ।
गुडिसन पार्कमा सोमबार राति भएको खेलमा पाहुना टोली टोटेनहमले घरेलु टोलीलाई दवावमा राखेपनि गोलको लागि पेनाल्टीकै साहरा लिनुपरेको थियो ।
५८औं मिनेटमा घरेलु टोली एभर्टन १० खेलाडीमा समेटिन पुग्यो । एब्डोउलाए डोउकोउरे सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरियो । ६८औं मिनेटमा केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई १–० को अग्रता दिलाए ।
८८औं मिनेटमा टोटेनहम पनि १० खेलाडीमा समेटिन पुग्यो । ८२औं मिनेटमा मैदान छिरेका लुकास मोउरा सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि इन्ज्युरी समयमा माइकल किनले बेन गुडफ्रेको पासमा गोल गर्दै एभर्टनलाई हारबाट जोगाए ।
यस बराबरीसँगै टोटेनहम २९ खेलबाट ५० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । समान ५० अंक नै रहेपनि न्यूक्यासल तेस्रो तथा म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा छ । एभर्टन २७ अंक जोडेर १५औं स्थानमा छ ।
