लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाको शुभारम्भ घोषणासँगै सेमिनार

काठमाडौं – लुम्बिनी विकास कोषसँग सहकार्य गरी साउथ एसिया फाउण्डेशनले लुम्बिनीमा साउन्ड एण्ड लाइट परियोजनाको शुभारम्भ गर्दै सेमिनार गरेको छ। फाउण्डेशनले लुम्बिनीमा शुक्रबार गौतम बुद्धको जीवनसँग सम्वन्धीत परियोजना शुभारम्भ घोषणा र शनिबार सेमिनारको आयोजना गरेको हो।

सेमिनारको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले तीन दिनको लुम्बिनी बसाइले लुम्बिनीको महत्त्वबारे थप बुझ्न पाएको बताउनुभयो।

सेमिनारमा पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विश्वमा बढ्दै गएको अशान्तिका कारण बुद्धको उपदेशको महत्त्व झनै बढेको बताउनुभयो।

त्यस्तै कार्यक्रममा उद्योगपति पद्म ज्योतिले साउन्ड एण्ड लाइट परियोजनाको शुभारम्भसँगै बुद्ध जयन्ती मनाउन पाउँदा खुसी व्यक्त गर्दै बुद्धको जन्मस्थल नेपाल हुनुको महत्व र पर्यटन, नेपालको विश्वव्यापी स्थिति, विद्वान र विश्व शान्तिका लागि सम्भावित फाइदाहरूका बारेमा प्रकाश पार्नु भयो।

कार्यक्रममा नेकपा एमालेका सचिव एवम् प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्मा, पूर्व राजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्याय, कोषका उपाध्यक्ष भिक्षु मेत्तय, कोषका पूर्व प्रमुख पुरातत्वविद बसन्त विदारी, सुनील शाक्य  लगायतले लुम्बिनीको विकासको योजनाबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।

सेमिनारमा प्रमुख वक्ताका रूपमा बोल्दै डा साव हतुत सन्दर र डा निलिमा चहानले मानवजातिको लागि बुद्धको सन्देशको महत्वका बारेमा चर्चा गर्नु भएको थियो।

कार्यक्रममा परियोजनाका बारेमा जानकारी दिने www.lumbininepal.org पनि सार्वजनिक गरिएको थियो।

भारतका प्रख्यात फिल्म निर्माता श्याम बेनेगलले साउन्ड एण्ड लाइट परियोजनाको डिजाइन गर्नु भएको हो भने साउथ एसिया फाउण्डेशनको आयोजनामा नेपालमा पहिलो पटक संचालन हुन लागेको छ। भारतको वाराणसीमा सन् १९९१ मा साउथ एसिया फाउण्डेशनको स्थापना भएको हो भने फाउन्डेशनको नेपाल च्याप्टरको स्थापना सन् २०१२ मा काठमाण्डौंमा भएको हो।