वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०४ औं जन्मजयन्ती

ललितपुर – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आज १०४ औं जन्मजयन्ती जोशीको जन्मजयन्तिका अवसरमा ललितपुरमा कार्यक्रम हुँदैछ । लोक साहित्य परिषदले उहाँको जन्मजयन्तिको अवसरमा सप्ताहव्यापी रुपमा गरेको कार्यक्रमको आज समापन कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रम उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा मंगलबजारको केशव नारायण चोकमा दिउँसो ३ बजे हुनेछ । परिषदले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पुस्तक प्रदर्शनी, रक्तदान, पुस्तक विमोचन, सत्यमोहन जोशी संग्रहालयको निशुल्क अवलोकन लगायतका कार्यक्रम गरेको थियो ।

संस्कृतिविद् जोशीको १०३ वर्षको उमेरमा गएको असोज ३० गते निधन भएको थियो । जोशीले साहित्य लेखनसँगै सँस्कृति र परम्पराका बारेमा कलम चलाउँदै आउनु भएको थियो भने उहाँलाई लोक संस्कृति र इतिहासको पुस्तकालय भनेर समेत चिनिन्छ । तीन पटक मदन पुरस्कार विजेता जोशीका ५० वटा भन्दा धेरै पुस्तक प्रकाशित छन् ।