काठमाडौं –प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
सोमबार दिउँसो जिल्ला प्रहरी परिसर काठमाडौँले झण्डै दुई महिना लामो अनुसन्धानपछि पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र नेपाल सरकार बहालवाला सचिव टेकनारायण पाण्डेसहितका ३२ जनालाई प्रतिवादी बनाउँदै अनुसन्धान प्रतिवेदन बुझाएको हो।
स्रोतका अनुसार केहीलाई ठगी र संगठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । केहीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट पनि मुद्दा चलाउन सिफारिस गरिएको छ।
नक्कली शरणार्थी प्रकरणमा मुछिएका ३२ जनामध्ये १६ जना जिल्ला प्रहरी परिसर, काठमाडौं र मातहतका इकाइको हिरासतमा छन् ।
थप १६ जनालाई फरार प्रतिवादीका रुपमा प्रतिवेदनमा समावेश गरिएको छ ।
