सिथि कुमारको आज महास्नान

काठमाडौं – जोशीदेगलमा रहेको सिथि कुमारको आज महास्नान (न्हवं) गरिदैंछ। हरेक वर्ष जेष्ठ शुक्लपक्ष तृतीयाका दिनमा रक्त वर्णका कुमारको महास्नान गर्ने गरिन्छ।

मयुरमा विराजमान सिथि कुमारको महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट गुथियार  आउने गदर्छ।

पौराणिक र स्थानीय लोककथनअनुसार परापूर्वकालमा सिठी नखःको दिनमा जोशीदेगलको दोबाटोमा एक बालक रोइरहेका देखेपछि बालबच्चा कोही नभएका हालका पूजारीका पूर्खाले आफ्नो घरमा ल्याई पहिलो तलाको कोठामा राखी बुइगलमा मास, मुंगको बारा रोटी लिन गई तल आउँदा ती बालक सिद्ध भई कुमार भइसकेको थियो। त्यसै बेलादेखि कुमारको पूजा र जात्रा हुन थालेको भनिन्छ। वास्तवमा ती बालकरूपी कुमार बलम्बुबाट आएका रहेछ र तिनकी आमा बलम्बुकी महालक्ष्मी रहिछन् र अहिले पनि जेष्ठ शुक्ल तृतीयाको साँझ कुमारको महास्नान र अन्य कर्मकाण्ड क्रिया गराउन बलम्बुबाट नेमकुलहरू नै आउने गरेकाछन् ।

टेकुबाट पवित्र जल तामाको घडाबाट महास्नान गरेपछि नेमकूलले मूर्तिलाई मर्मत तथा रङरोगन गर्दछ । कुमारको मूर्तिलाई अरू बेला पूजारीकै घरको पहिलो तलाको एउटा सानो अँध्यारो कोठामा राखिएको हुन्छ। सिथि पर्वको अवसरमा महास्नानका लागि र भोलिपल्ट सर्वसाधारणबाट पूजा थाप्नको लागि मात्र बाहिर ल्याउने गरिन्छ।

ठूला ठूला मुद्धा मामलाको छिनफानो गर्न वा कुनै रोग निको पार्न सिथि कुमारलाई तिलको तेलमा बत्ती बाल्दा समस्याको छिनोफानो हुने जनविश्वास छ।