प्रेमध्वजको जन्मजयन्तीमा खरेल, तुलाधर र नेवार सम्मानित

ललितपुर  – स्वर्गीय प्रेमध्वज प्रधानको ८७ औँ जन्मजयन्तीका अवसरमा गोल्डेन भ्वाइस प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानद्वारा तीन स्रष्टा सम्मानित भएका छन् । गीतकार किरण खरेल, वरिष्ठ सितारवादक उस्ताज तारावीर सिंह तुलाधर र गायिका मिलन नेवार सम्मानित हुनु भएको हो।

ललितपुरमा हिजो आयोजित कार्यक्रममा कवि तथा लोकसंस्कृतिविद् तुलसी दिवसले गीत तथा सङ्गीतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएवापत् वरिष्ठ गीतकार खरेललाई एक लाखसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय सङ्गीत सम्मान प्रदान गर्नु भयो।

यस्तै, वरिष्ठ सितारवादक तुलाधरलाई रू ७५ हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय वाद्यवादन सङ्गीत सम्मान प्रदान गरिएको थियो। यसैगरी गायिका नेवारलाई ५० हजारसहित प्रेमध्वज प्रधान स्मृति राष्ट्रिय युवा सङ्गीत पुरस्कारबाट सम्मानित गरिएको थियो ।

सम्मान तथा पुरस्कार हस्तान्तरणपछि लोकसंस्कृतिविद् दिवसले साहित्य, कला र संस्कृतिका क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गर्ने परम्परा जनस्तरमा ल्याउनु जरुरी रहेको बताउनु भयो।

सम्मान कार्यक्रममा आनन्द कार्की, उदेश श्रेष्ठ, सुरज थापा र पुरस्कृत कलाकार नेवारले प्रेमध्वज प्रधानका गीत प्रस्तुत गर्नु भएको थियो ।