काठमाण्डाै महानगरकाे मेयरमा उम्मेदवारी दिने सुमना श्रेष्ठकाे घाेषणा

काठमाण्डाै – पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले आउँदो पालिका चुनावमा काठमाण्डौ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

श्रेष्ठले आज सामाजिक सञ्जाल फेसबुकमार्फत महानगरको मेयरमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

उहाँले आफ्नो जीवन र कर्मबाट आर्जन गरेको ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाण्डौको समृद्धि, सुशासन र रूपान्तरणका लागि समर्पित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

गएको वैशाख ४ गते राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) को सहमहामन्त्री पदबाट राजीनामा दिनुभएकी श्रेष्ठ अहिले दलविहीन हुनुहुन्छ । उहाँले मेयर पदमा कुन दलबाट उम्मेदवारी दिने वा स्वतन्त्र प्रतिस्पर्धा गर्ने भन्नेबारे खुलाउनुभएको छैन ।

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्यमा निर्वाचित श्रेष्ठ विसं २०८० फागुन २३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बन्नुभएको थियो ।