रातो मच्छिन्द्रनाथको जात्रा सकिएको सन्देश पुर्‍याउन सप्तपाताल पोखरीमा आज माछा छोडिने

ललितपुर – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ र मीननाथको रथजात्रा सम्पन्न भएको सन्देश इन्द्रलोक र यमलोकमा पठाउनका लागि आज विशेष पुजा हुँदैछ। आजको पुजालाई रातो मच्छिन्द्रनाथ र मीननाथको जात्रा क्रममा हुने अन्तिम पूजाको रूपमा लिइन्छ।

यसवर्षको रातो मछिन्द्रनाथ र मीननाथको रथयात्रा गएको जेठ ११ गते भोटोजात्रासँगै सकिएको थियो भने तान्त्रिक विधिबाट जात्राको औपचारिक समापन आज मात्रै गरिन्छ।

आज हुने समापन पुजा  मासांहुति होम लगनखेलमा रहेको बटुक भैरव मन्दिरमा गरिन्छ। त्यस्तै जात्रा सम्पन्न भएको सन्देश इन्द्रलोकमा पठाउनको  लागि दुईवटा भङ्गेरा र यमलोकमा सन्देश पठाउनका लागि लगनखेलस्थित सप्तपाताल पोखरीमा दुईवटा माछा विधिपूर्वक पूजा गरेर छाडिनेछ। हाल सप्तपाताल पोखरी पुनः निर्माणको क्रममा रहेकोले कृत्रिम सानो पोखरी बनाएर माछा छोडिनेछ।

भंगेराले स्वर्गमा इन्द्र देवतालाई गएर रातो मछिन्द्रनाथ र मीननाथको जात्रा समापन भएको सन्देश प्रवाह गर्ने जनविश्वास रहेको छ।  सप्तपाताल पोखरीमा छोडिएको एक जोर माछाले पातालमा रहेको कर्कोटक नागराजाकहाँ जात्रा सम्पन्न भएको सन्देश पुर्‍याउने मान्यता छ।