डा.आनन्द जोशीका नेपाल भाषाका दुई कृति सार्वजनिक

काठमाण्डाै- नेपाल भाषा साहित्यका आधुनिक कवि डा. आनन्द जोशीका प्यकालँय् जि जि (लघुकथासंग्रह) र थौंया हाइकु: विकास यात्रा वा दिशाबोध (हाइकु सिद्धान्त र समालोचनासंग्रह) को लोकार्पण भएको छ। रुबरिक र कुतः पिकाकको आयोयना तथा कथाकार ध्रुव मधिकर्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्रष्टा जोशीका नाति रोनन जोशी र सोहन बाटाजुले कृतिको लोकार्पण गर्नु भएको हो।

कार्यक्रममा प्रमुख अतिथि मधिकर्मीले लघुकथा र हाइकु आकारमा सानो भए पनि विषय र दृष्टिकोणले लामो साहित्यभन्दा कम नभएको बताउनु भयो। उहाँले प्रस्तुत हाइकु कृतिमा स्रष्टा जोशीले नेपाल भाषाका हाइकुको अवस्था र अवधारणा स्पष्ट रूपमा उल्लेख गरेको तथा महानगरीय चेतना र प्रविधिको अत्यधिक विकासले मानवीय जीवनमा परेको प्रभाव लघुकथा कृतिमा सशक्त रूपमा प्रस्तुत गरिएको बताउनु भयो।

स्रष्टा डा.आनन्द जोशीले थोरै शब्दमा लेखिने विधा चुनौतीपूर्ण हुने बताउँदै त्यसका लागि आफूले निकै मेहनत गरेको बताउनु भयो।

कार्यक्रममा स्रष्टा जोशीलाई नेपालभाषा परिषदले घोषणा गरेको चित्तधर सिरपा पुरस्कार पनि प्रदान गरिएको थियो।

बीसको दशकदेखि नेपाल भाषाको आधुनिक कविता लेखनमा अग्रपंक्तिमा रहेर सशक्त ढंगले उपस्थिति जनाउँदे आएका कवि जोशीले पछिल्लो समय साहित्यका अन्य विधा हाइकु, लघुकथा र समालोचनामा समेत कलम  चलाउँदै आउनु भएको छ। उहाँका कविता र समालोचना सम्बन्धी एक दर्जन बढी कृति प्रकाशित छन्।