आलु कथा
-सुशील ताम्राकार
यो कथा “आलु ” को हो । हामीले कक्षा १० मा पढेको भैरब अर्यालको “आलु” निबन्धसंग यसको कुनै साइनो छैन । बिशुद्ध शुद्ध अर्ग्यानिक आलु कथा हो, आलु उमार्ने, उफार्ने र डकार्नेको ब्यथा हो।
धेरै बर्ष अघिको कथा हो । विष्णुमती नदी पारि बिरलै घर हुन्थे । लखुतीर्थ भन्दा माथि (पश्चिम) खेतै खेत थियो । हरिया फाँटहरु बीच एउटा दुइटा बल्चा भेटिन्थे । बल्चा अर्थात किसानले पसिना पुछ्ने, एकक्षण थकाइ निद्रा सुत्ने वा ठेउला उठेको हातले खाजा खाने झुपडीको महल। साँझ आक्कल झुक्कल जुनकिरी बत्ति बल्थ्यो खेतको बीच बीचमा।
हाम्रो केही किसान परिवार संग इष्टको सम्बन्ध थियो । कृष्णमान दाइ, राम मान दाइ, दुइ दाजु भाइको अनुहार, ब्यबहार झल्झली अझै ताजा छ । किसानहरु संग जग्गा जमिन हुन्थ्यो, अन्न फल्थ्यो, पेट पाल्थ्यो , तरकारीमा नगद उम्रन्थ्यो । जमिन भए नि किसान, अर्थ शास्त्रअनुसार गरीब नै हुन्थे । किस्मान दाइ ( कृष्ण मान दाइ )हरु हाम्रो हरेक जीवन उपक्रमका इष्ट हुन्थे ।
मलाई सम्झना छ, आलुको सिजनमा आलुको खेती गर्न हाम्रो हजुरबाकोमा किस्न्मान दाजुहरु कोलाबोरेशन खेती गर्न सहयोग माग्नु आउनु भएको । बाजेको भरपर्दो सहयोगी भएकोले कारोबारको गोप्य मिटिंगमा नि म हुन्थे। आलुको उन्नत बिउ, आबश्यक मल र किटनाशक औषधीमा हजुरबाले लगानी गर्ने । फलेको आलु आधा आधी । आलु रोप्ने र निखन्ने बेलाँ पुरै फौज पल्टन कवाज खेल्ने गरी सम्झौता भएको धुमिल सम्झना छ ।
सहमती अनुसार हामी काजीका सन्तान, पहिलो पल्ट माटोको सुगन्ध र हिलोमा स्पर्श गर्न गएका थियौं । आलु रोपाइँ एउटा महोत्सब थियो । गह्राको डिलमा बसेर छोयला बजी खाएको अनि थों (छ्याङ्ग) चाही हामी बालक संघलाई वर्जित थियो । कुवाको चीसो माटो घैंटे पानीमा अमृत स्वादको आनन्द घुलित हुन्थ्यो ।
गोडमेल, घाँस छाँट के के भयो भयो । पछि एकै चोटी आलु उत्खनन अभियानको लागि निम्तो आयो किस्मान दाजुको ।
बिहानै देखि आलु उत्खननमा दुवै परिवारको सयुक्त सेना लागिपरियो । गुच्चा भन्दा सानो लुच्चा साइजको आलु देखि बडेमानको एक शेर दुइ शेरको घिरौले आलु पनि भेटिने । त्यो बेला के थाहा? पसिना रोप्दा आलु फल्छ भन्ने । रमाई रमाई आलु बोरा भित्र कोचियो । भद्र सम्झौता अनुसार आलु आधा आधा । ६-७ बोरा आलु हाम्रो भागमा । भरियालाई बोकाएर झुलुङ्गे पूल तरेर जात्राका साथ धुमधामसंग आलु भित्र्याइयो ।
त्यस पछि के चाहियो – घरै आलु , बनै आलु , बिहानै आलु, दिउँसै आलु , राती नि आलु । आलु कै दाल (ससानो आलुलाई लोंहमा अर्थाल खलमा कुटेर), आलु तरकारी, आलु कै अचार । हुने भए र मिल्ने भए आलु कै भात पनि हुन्थ्यो होला । आलु भण्डारणको बैज्ञानिक ब्यबस्था नहुँदा कुहिनु भन्दा अघि आलु भोजनको समापन गर्नु थियो । परिवार ठुलो थियो र त्यो ७-८ बोरा आलु बिग्रिन अगाडी नै भान्सामा प्रवेश पाए । यति आलु खाइयो कि सात जुनीको आलु एकै जुनीमा खाइयो । शायद त्यही अघाइले होला स्कुल कलेजको जाँचमा आलु खानु परेन । पछि आफ्ना भाराभुरीहरुलाई एउटा सिद्धान्त प्रतिपादन गरेको गौरबगाथा सुनाउँथें। केटाकेटीहरुले आलु खान नमान्ने, अनि म भन्थे – हेर केटाकेटीहरु हो , यो संसारमा भगवानले सबैजनालाई बराबरी आलु खान जन्माएका हुन् । जसले घरमा आलु खाँदैन, त्यसले स्कुलमा जाँचमा खान्छ । अब घरको आलु खाने कि स्कुलको । यसलाई युनिभर्सल थ्योरीको आलु कन्ज्युम्सन भनिन्छ अंग्रेजीमा । ती निर्दोष बालकहरु मेरो सिद्धान्तको छाँयामा आलु खुरु खुरु खान्थे ।
अचेल विष्णुमती पारी न कुनै खेत नै बचे न आलु फाल्ने एक टुक्रो डिल । न त धानको बाला लहलहै फल्ने बारी न त फल्चा बल्चा । अन्तिम संस्कार गर्ने मसानलाई समेत मिचेर घर फलाए, भर जलाए । धान किनेर आलु आयात गरेर स्वाबलम्बी नेपाली हौँ भन्ने गाना सुनिरहेका हुन्छौं । अचेल किस्मान दाजुहरु न किसान रहे न पसिनाको निशान बचे ।अस्तु!
