आज नेवार समुदायले गठेमंगल पर्व मनाउदै

काठमाण्डाै – आज नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः) मनाउदै छन् । श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने यो पर्वलाई ‘घण्टाकर्ण चर्तुदशी’ पनि भनिन्छ ।

आजको दिन दुष्ट आत्मा र भूतप्रेत भगाउन भन्दै घर सरसफाइ गरी राक्षसी स्वरूपको घण्टाकर्ण दहन गर्ने चलन छ ।

ठड्याइएको नर्कटबाट बनाइएको गठेमंगल घाम अस्ताएपछि टोलवासीले छ्वाली बालेर परिक्रमा गरेर ढालेपछि नदीमा लगेर विसर्जन गर्ने परम्परा छ । धान रोपी सकिएपछि घरभित्रका दूषित कीटाणु भगाउन धुप बालेर धुँवा पठाउने गरिन्छ । जसबाट कीटाणु भाग्ने जनविश्वास छ ।

परापूर्वकालमा नास्तिकले ‘भगवानको नाम सुन्न नपरोस भनी कानमा घण्ट झुन्ड्याएको र उसको आतंकले अप्ठ्यारो परेकाले दहन गरिएको नेवारी समुदायमा कथन छ ।

आजको दिन घरको ढोकामा भूतप्रेत र अन्य भयबाट जोगिन फलामको तीनखुट्टे ओदान गाडिन्छ भने घरबाहिर खाना, रक्ति, जाँड, मासु, छ्यापी चढाउने गरिन्छ ।

विभिन्न ग्रह तथा भूतप्रेतबाट बच्न फलामको औंठी लाउने चलन पनि रहेको छ ।