मलमास आजदेखि शुरू, गर्न हुने र नहुने यी काम

काठमाडौं – प्रत्येक ३२ महीना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास वा अधिकमास आजदेखि शुरू भएको छ। आजदेखि शुरू भएको मलमास साउन ३१ गतेसम्म रहने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। 

ज्योतिषीय गणनाअनुसार ३६५ दिनको वर्ष हुन्छ। वर्षमा सौर र चान्द्रमास हुन्छन्। दुवैलाई समन्वय गर्न ३२ महीना १६  दिन एक घण्टा ३६ मिनेटमा मलमास वा अधिकमास आउँछ। एउटा औँसीदेखि अर्को औँसीसम्म सङ्क्रान्ति छैन भने त्यो महिनालाई मलमास वा अधिकमास भनिन्छ।

महीनामा दुई वटा सङ्क्रान्ति पर्‍यो भने क्षयमास भनिन्छ। अर्थात् सङ्क्रान्ति नभएको महिना अधिकमास वा मलमास हो। दुई वटा सङ्क्रान्ति भएको महीना क्षयमास हो। क्षयमास भने कहिले-कहिले मात्र हुने गरेको छ। यसअघि क्षयमास २०२०, २०३९  सालमा परेको थियो। क्षयमास कात्तिक, मंसीर र पुसमा पर्ने गरेको छ। यसमा पनि बढीजसो  मंसीर र पुसमा क्षयमास पर्छ। कात्तिक महीनामा भने क्षय र अधिकमास दुवै पर्न सक्छ। माघ महीनामा भने क्षय र अधिकमास दुवै पर्दैन। बाँकी आठ महीनामा अधिकमास पर्न सक्छ। 

सबै मासको देवता हुन्छन् । मलमास महीनाको देवता नभएपछि मलमास रुदै भगवान् श्रीकृष्णसँग पुगेर आफूलाई अशुभ मास भनी सबैले हेलाँ गरेको गुनासो गरे। गुनासो सुनेर भगवान् श्रीकृष्णले नै मेरै नामबाट तिमीलाई अब सबैले चिन्नेछन् भनी पुरुषोत्तममासको नाम दिएको पुरुषोत्तममास माहात्म्य नामक ग्रन्थमा उल्लेख गरिएको छ। 

मलमास अर्थात् अधिकमासमा नित्य कर्म पूजा, पाठ, जप, ध्यान गर्नुहुन्छ। नित्य बसिरहेको व्रत गर्नुहुने विभिन्न शास्त्रमा वर्णन गरिएको छ । पहिल्यैदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्नु नहुने नियम छ ।

मलमासको समयमा महादान, माङ्गलिक कार्य अर्थात् विवाह, व्रतबन्ध, गृह निर्माण, गृहप्रवेश जस्ता कार्य गर्नु हुँदैन। यसैगरी गर्भाधान गर्नुहुँदैन, पहिले नै गर्भ रहेको भए दोष लाग्दैन। 

नवविवाहित श्रीमान्-श्रीमतीले मलमासलाई छल्नुपर्छ भन्ने परम्परा पनि गर्भाधान गर्नुहँदैन भन्ने मान्यतामै आधारित रहेको धर्मशास्त्रविद्को भनाइ छ । वृहस्पति र शुक्र अस्त भएका बेला गर्न नहुने जति कर्म मलमासमा पनि गर्नुहुँदैन।