एनओएको ११ औं सामूहिक ब्रतबन्ध सम्पन्न

भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए) ले ११ औं सामूहिक ब्रतबन्ध (केयता पूजा) आयोजना गरेको छ।  सामूहिक ब्रतबन्ध जुलाई  ८  का दिन मेरिल्याण्ड राज्यको वाशिंगटन काली मन्दिरमा विहान ८ बजेदेखि भएको थियो।

मेरिल्याण्ड, भर्जिनिया, कनेतिकेत र ईलिनोइका ७ जना ११ वर्षदेखि १६ वर्षसम्मको उमेर समूहका नेपाली बटुकलाई नेवार समुदायका पुरोहित  बासव राजोपाध्यायले सामूहिक रूपमा ब्रतबन्धको संस्का्र गर्नुभएको हो। बटुकहरुमा क्रमशः कनेतिकेतका श्रेयस जोशी, मार्कस जोशी,  मेरिल्याण्डका डेभज श्रेष्ठ, संस्कार महर्जन,  भर्जिनियाका विभान श्रेष्ठ, अयेडेन कर्माचार्य, इलिनोजका अर्नभ श्रेष्ठको सहभागिता थियो ।

सामूहिक ब्रतबन्धको कार्यक्रममा एनओए वरिष्ठ संस्थापक तथा देवरथारोहण गरिसकेका गणेशलाल कायस्थ तथा उहाँकी धर्मपत्नी हरिबाबा कायस्थले यज्ञमान (नायः, नकिं) को भूमिका निर्वाह गर्नु भएको थियो भने एनओएका अध्यक्ष महेन्द्र मान सिहं प्रधानले न्वकुको भूमिका निर्वाह गर्नु भएको थियो।  सामूहिक ब्रतबन्धमा  पितृ श्राद्ध, लसकुस, कार्य शुद्धि, सामूहिक मण्डप पूजा, स्नान, अभिषेक, आशिर्बाद, भिक्षा दान, लगायतको ब्रतबन्धका सबै विधि पूरा गरिएको थियो।

कार्यक्रममा जयम्बु रंजित, दिवाकर धौभडेल, सुगन्धा श्रेष्ठ, यज्ञमान शाक्यले धिमे र भुज्याः बजाउनु भएको थियो। एनओएका अध्यक्ष महेन्द्र प्रधानले ब्रतबन्ध कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिनु भएको थियो। एनओएका उपाध्यक्ष दिवाकर धौभडेलले सामूहिक ब्रतबन्धको संयोजन गर्नु भएको थियो।

कार्यक्रममा बटुकका आफन्त, एनओएका पदाधिकारी लगायत अन्य व्यक्तित्वहरूको उपस्थिति थियो।

एनओएले भाषा, संस्कृति, परम्परा एवं कलाको प्रवर्द्धन तथा सम्बर्धन गर्ने उद्धेश्यले सामूहिक ब्रतबन्ध सहित विभिन्न कार्यक्रम गर्दै  आइरहेको छ।